नेपाल उद्योग वाणिज्य महासंघले युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ।
महासंघले विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो।
महासंघले जेनजीले देशभर गरेको प्रदर्शनको क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ।
प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि महासंघले गरेको छ।
मर्यादित रोजगारी, स्वरोजगारी, र सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजस्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन महासंघले नेपाल सरकार, राजनीतिक दलहरू र सम्बन्धित सबैमा आग्रह गरेको छ।
मुलुकमा थप निराशा र अशान्तिको वातावरण कतैबाट पनि सिर्जना नहोस् र शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग नहोस् भनि महासंघले ध्यानाकर्षण गराएको छ।
सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव रहेको महासंघको भनाइ छ।
आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न सबै संयमित हुनुपर्ने समेत महासंघले बताएको छ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार र सम्पूर्ण राजनीतिक दलहरूका साथै जेन(जीसँग महासंघले अपिल गरेको छ।
युवाहरूको चाहनाअनुसार नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेसाव्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता, तथा लगानी र रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरेर समुन्नत समाज निर्माणमा योगदान पुर्याउन पनि महासंघले आग्रह गरेको छ।