आम निर्वाचनको आसपासमा करिब एक साता बिदा पर्यो। सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दियो। त्यसअघि फागुन १८ गते सोमबार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको बिदा भयो। यस्तै २३ गते शनिबार पर्यो। यस आधारमा एक साता सार्वजनिक बिदा भयो। अझ महिलाहरूका लागि फागुन २४ गते नारी दिवसको बिदा छ।
करिब ८० दिनभन्दा बढी २०८२ मा दिने निर्णय गरेको सरकारले आगामी २०८३ सालमा शनिबार र विभिन्न चाडपर्व, जयन्ती लगायत गरी १०९ दिन सार्वजनिक बिदा दिँदैछ। कतिपय दिन देशभर र कतिपय दिन सम्बन्धित क्षेत्र र समुदायका लागि बिदा तोकिएको छ। सरकारले आठ प्रकारका बिदा निर्धारण गरेको छ। जसअन्तर्गत २०८२ मा शनिबार ५२ दिन सार्वजनिक बिदा तय गरिएको छ। त्यस्तै, पर्व बिदा सबैले पाउँछन्।
महिला कर्मचारी, शिक्षण संस्था, जात्रा, दिवस, अपाङ्गता भएका कर्मचारी, जयन्ती र दिवसमा कतिपय देशभर र कतिपय सम्बन्धित क्षेत्र तथा समुदायका व्यक्तिका लागि बिदा निर्धारण गरिएको छ। यससँगै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको बिदालाई समेत ध्यानमा राखेर १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न पाउँछन्। प्रदेश र स्थानीय सरकारले पनि आआफ्नो क्षेत्रको धर्म, संस्कृतिका आधारमा थप ६ दिन सार्वजनिक बिदा दिन पाउँछन्।
यसरी अत्यधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित बन्न थालेको छ। सार्वजनिक बिदाका कारण मजदुरहरू काममा नआउने, सरकारी कामहरू समेत नहुँदा समस्या पर्न थालेको निजी क्षेत्रका अगुवाहरूले बताउन थालेका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक बिदाहरू अत्यधिक हुँदा काममा असर पर्न थालेको बताए।
उनकाअनुसार भूगोल र जनसंख्याको हिसाबले नेपाल सानो भए पनि सार्वजनिक बिदा दिन प्रचलन बढी हुँदा यसको असर काममा पर्न थालेको छ। हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिन भन्दा सार्वजनिक बिदा धेरै हुन थालेको उनको भनाइ छ।
अध्यक्ष सिंहले भने–‘भूगोल र जनसंख्याको हिसाबले नेपाल धेरै नै सानो छ। भारत र चीनभन्दा ३०/३५ गुणा जनसंख्याको आधारमा नेपाल सानो छ। सानो देशमा धेरै नै विविधता छ। त्यो विविधताको सम्मान गर्नुपर्छ। तर त्यो सम्मान गर्दैगर्दा मुलुकको अर्थतन्त्र संकुचनमा ल्याउने, मुलुकको जिडिपी, आर्थिक वृद्धिलाई घटाउने र हाम्रो प्रगतिलाई बाधा गर्नेगरी धेरै सार्वजनिक बिदा हुने गरेको छ। जुन समुदायलाई बिदा दिनुपर्ने हो त्यो समुदायलाई मात्रै अब बिदा दिनुपर्छ। हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिन भन्दा सार्वजनिक बिदा धेरै भइरहेको छ। धेरै भाषाभाषी संस्कृति छौं बिदा दिएर मात्रै मनाउने भन्ने हुँदैन।’
उनले अगाडि भने, ‘सहिद दिवसका दिन पनि बिदा दिइन्छ। बिदा दिन जरूरी छैनन्। अब काम गरेर कार्यक्रमहरू पनि गर्दै जानुपर्छ। बिदाहरूका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडि धकेलिरहेका छौं। बिदाका कारण सरकारी कर्मचारी घर बसिदिँदा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरिरहेको छ। निर्माण क्षेत्रमा केही काम सार्वजनिक बिदामा भए पनि धेरै मजदुरले हामीले चाडपर्व मान्नुपर्दैन भनेर भन्ने गरेका छन्। त्यसले पनि समस्या पार्ने गरेको छ।’
बिदाहरूका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडि धकेलिरहेको बताउँदै उनले बिदाका कारण सरकारी कर्मचारी घर बसिदिँदा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरिरहेको उनले बताए।
निर्माण क्षेत्रमा सार्वजनिक बिदाहरूले काम गर्न धेरै कठिन भइरहेको उनको भनाइ छ। –न्युज एजेन्सी नेपाल