नेपाल आयल निगमले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा आधुनिक सुविधासहितको नयाँ इन्धन भण्डारण केन्द्र (डिपो) निर्माण प्रक्रिया अघि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र निगमका कार्यकारी निर्देशक डा. चन्द्रप्रसाद भट्टको विशेष निर्देशनमा लुम्बिनी प्रदेश कार्यालय अन्तर्गत २५ बिघा क्षेत्रफलमा डिपो निर्माण कार्य आर्थिक वर्ष २०८२/८३ बाट सुरु हुने भएको हो।
काठमाडौं विश्वविद्यालयको कन्सल्टेन्सी सेवा विभागसँगको सहकार्यमा तयार गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) निगमलाई हस्तान्तरण भइसकेको छ। करिब ११ बिघा जग्गा खरिद भइसकेको र थप करिब १४ बिघा जग्गा ल्याउने प्रक्रिया अघि बढेको निगमले जनाएको छ।
नयाँ डिपोमा डीजल, पेट्रोल र मट्टितेलका लागि करिब १८ हजार ६८८ किलोलिटर क्षमताका ट्यांकहरू निर्माण गरिनेछन्। यससँगै लुम्बिनी प्रदेशमा एक महिनासम्मको इन्धन माग धान्न सक्ने क्षमता उपलब्ध हुने निगमको दाबी छ।
भण्डारण गृहसँगै २ वटा २१०० किलोलिटर क्षमताका पानी ट्यांकी, लोडिङ–अनलोडिङ सेड, फायर फाइटिङ प्रणाली, प्रशासनिक भवन, कर्मचारी आवास, प्रहरी चौकी तथा अन्य सहायक संरचना समेत निर्माण गरिनेछन्।
यस परियोजनाको लागत कर बाहेक करिब ५ अर्ब ७९ करोड रुपैयाँ अनुमान गरिएको छ।
हाल रुपन्देहीको भलवारीमा रहेको प्रदेश कार्यालय (डिपो) साँघुरो र भीडभाडयुक्त क्षेत्रमा भएकाले सुरक्षा चुनौती बढेको र माग धान्न नसक्ने अवस्थाले नयाँ डिपोको आवश्यकता परेको निगमले जनाएको छ।