गत वर्ष साझा यातायातले औपचारिक रुपमा यात्रा कार्ड सार्वजनिक गर्यो।
त्यसअघि पनि साझाले यात्रा कार्ड जारी गरेको थियो। त्यो प्रभावकारी हुन नसकेपछि आफ्नो सिस्टमलाई अपग्रेड गरेर नयाँ प्रविधीको यात्रा कार्ड जारी गरेको थियो।
यस कार्डवाहक यात्रुले गाडीमा चढ्ने वित्तिकै ‘ट्याप इन’ र झर्ने बेलामा ‘ट्याप आउट’ गरेर भाडा तिर्ने व्यवस्था मिलाइएको थियो। यो कार्डले खुद्रा पैसाको झन्झट मेटिने र यात्रुहरु ठगिनबाट रोकिने साझाको विश्वास थियो।
साझाको उक्त कार्ड प्रभावकारी भने हुन सकेन। आइतवार इ–ढेवा र सुन्दर यातायातले पनि यात्रा कार्ड सार्वजनिक गरे। सुन्दरले सार्वजनिक गरेको यो कार्डको सेवा करिव–करिव साझाकै जस्तो छ।
साझा र सुन्दर बाहेक अरु कम्पनीहरुले पनि यात्रा कार्डको बारेमा चासो दिइरहेका छन्। कोभिड-१९ को महामारीको कारण संक्रमण फैलिने डरले मान्छेले पैसा छुन डराइरहेको अवस्थामा यात्रा कार्ड प्रभावकारी हुने उनीहरुको तर्क छ।
व्यवस्थापकिय पक्ष, प्रविधिक पक्ष र यातायात गरी ३ पक्षलाई एकै ठाउँमा राख्नुपर्ने भएकोले यात्राकार्ड यात्रुको रोजाईमा ल्याउन नसकिएको साझा यातायात संचालक समितीका सदस्या भुषण तुलाधर बताउँछन्।
‘पहिलो, सबै यात्रु प्रविधीमैत्री हुनुहुन्न। दोस्रो, धेरै यातायातहरुमा गाडीका कर्मचारी नै यात्रा कार्डको विपक्षमाा हुनुहुन्छ र तेस्रो कुरा हालसम्म एउटा गाडीको कार्डले अर्कोमा प्रयोग गर्न नमिल्ने भएकोले यात्राकार्ड प्रभावकारी हुन नसकेको हो,’ उनले सेतोपाटीसगँ भने।
राज्यले नै भुमिका निभाएर सफ्टवयेर विकाश गरेका यात्राकार्ड असम्भव नरहेको तुलाधर बताउँछन्।
‘सरकारले जुन गाडी चढेपनि एउटै कार्ड प्रयोग गर्न मिल्ने कुनै एउटा सफट्वयरको विकाश गरेर सबै यातायात कम्पनीलाई १ वर्षभित्र प्रयोग गर्नुपर्ने बाध्याकारी नियम लगाएमा यो सम्भव र सहज हुन्छ,’ उनले भने ‘ अहिलेको महामारीको अवस्थामा यात्रु ट्रेसिङ गर्न, मान्छेको चाप हेरेर रुटमा गाडी थप्न लगायत कामको लागि पनि यात्रा कार्ड प्रभावकारी हुन्छ।
अरु कम्पनीले कार्ड निकालेको अवस्थामा त्यो कार्ड पनि एसेप्ट गर्न मिल्ने, बनाउन सकिने भएकाले आफूहरुको सिस्टम सफल हुने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाको दावी छ।
‘अहिले हाम्रो आफ्नै सिस्टम छ। कुनै यातायात कम्पनीले हाम्रो प्रविधी प्रयोग गर्न चाहेमा हामी उपलब्ध गराउँछौं। भोलिको दिनमा नेपाल सरकारले आफ्नै सिस्टम विकाश गर्यो भने हाम्रो डिभाइससले त्यो सफ्वेयरमा पनि काम गर्न सक्छ,’ उनले भने ‘ त्यस्तो अवस्थामा
ग्राहकलाई दिइएको कार्डमा केही परिमार्जन गर्नुपर्ने हुनसक्ने भएकोले ग्राहकसगँ कार्डको एक रुपैयाँ पनि लिदैनौं।’
यात्र कार्डले यात्रु मात्रै नभई व्यवसायीलाई समेत फाइदा पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।
‘हामीले सिटी बसहरुमा १३ को सट्टा १५ रुपैयाँ लियो लगायतको आरोप खेपिरहनु परेको छ। त्यसैगरी लाखौ लगानी गरेका व्यवसायीले भने चालक, सह–चालकले जति पैसा दियो त्यती नै हात थापेर चित्त बुझाउनु परेको छ। यो कार्ड लागू भएमा सबै पारदर्शी हुन्छ,’ सिटौलाले सेतोपाटीसगँ भने।
यात्राकार्डको लागि सरकारले छिट्टै कार्यविधी बनाउनु पर्ने उनको तर्क छ।
‘गाडीपिच्छे छुट्टै कम्पनी भयो भने झनै भद्रगोल हुन्छ। सरकारले कार्यविधी बनाएर डिभाइसको मूल्य, कार्डको शुल्क लगायतको बारेमा स्पष्ट पार्नुपर्छ। त्यस्तै यात्रा कार्ड लागु गर्नुपुर्व बैज्ञानिक भाडादर कायम गरेर स्वचालित भाडा समायोजनको व्यवस्था मिलाउनु पर्छ,’ सिटौलाले भने।
यस अगाडि नेपालमा यात्रा कार्डको प्रयोग भएपनि नेपालीहरु यसमा अभ्यस्त नभएको र टेक्नोलोजी झण्झटिलो भएको कारण सफल हुन नसकेको सार्वजनिक यातायातविद् आशिष गजुरेलले बताए।
‘खासमा हामीलाई यो प्रविधी नयाँ भएकोले प्रयोग गर्न झण्झट मान्छौं। पहिले त यो सेवालाई सहज र निरन्तर बनाउनु पर्छ,’ उनले भने।
यसलाई जुनसुनै यातायातमा प्रयोग गर्न मिल्ने बनाउनुपर्ने उनको तर्क छ।
‘हामीले बाहिरको अभ्यास हेर्ने हो भने एउटा ट्राभल कार्डले सिटी बसदेखि मेट्रोल रेलसम्म प्रयोग गर्न मिल्छ। हामीले पनि त्यस्तै संयन्त्र बनाउनु पर्छ। साझाको कार्ड किनेर नेपाल यातायात र मध्यपुर यातायात चढ्दा पैसा नै झिक्नुपर्यो भने के काम लाग्यो र?,’ उनले भने।
सरकारले नै एकिकृत टिकेटिङ सिस्टमको व्यवस्था मिलाउनु पर्ने गजुरेलको सुझाव छ।
‘सर्वप्रथम सबै गाडीलाई कम्पनी मोडलमा लगेर यातायात व्यवसायीलाई सेयर होल्डर बनाउनु पर्यो। त्यो कम्पनीले एकिकृत टिकेटिङ सिस्टम सुरु गर्यो भने बल्ल यात्रा कार्डलाई यात्रुको रोजाइ बनाउन सक्छौ,’ गजुरेलले भने।