सजिलो मर्मत सेवा (एसएमएस) ले ‘एसएमएस कोभिड रिलिफ फन्ड’ मार्फत् आफ्ना साझेदार प्राविधिक एवम् मिस्त्रीहरूलाई सहयोग गर्ने भएको छ।
लकडाउनका कारण उनीहरूलाई दैनिक गुजारा टार्न मुश्किल परिरहेको थियो।
सोही अप्ठ्यारो अवस्थालाई लक्षित गर्दै एसएमएस रिलिफ फन्ड सुरू गरिएको हो। सजिलो मर्मत सेवासँग जोडिएका प्राविधिकहरूलाई कोभिड–१९ महामारीसँग जुध्न सघाउनु रिलिफ फन्डको लक्ष्य हो।
एसएमएसले अप्ठ्यारोमा परेका प्राविधिकलाई बिनाधितो र बिनाब्याजदर ऋण प्रदान गर्नेछ। कोभिड–१९ भाइरसबारे पर्याप्त जानकारी दिएर उनीहरूलाई काममा फर्काउनका लागि पनि रिलिफ फन्ड प्रयोग गरिनेछ।
सजिलो मर्मत सेवासँगको सहकार्यमा हाल जम्मा ६५ जना प्राविधिकले काम गर्दै आएका छन्।
प्राविधिक र ग्राहक दुवैको स्वास्थ सुरक्षालाई ध्यानमा राख्नुका साथै स्वास्थ सुरक्षा मापदण्ड अपनाएर यस कम्पनीले काममा फर्किने सबै प्राविधिकहरूलाई पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पिपिई) उपलब्ध गराएको छ।
साथै, कोभिड–१९ बारे पर्याप्त जानकारी दिन र कसरी लो कन्ट्याक्ट सर्भिस (न्यून जनसम्पर्क सेवा) उपलब्ध गराउन सकिन्छ भन्नेबारे बुझाउन एसएमएसले प्राविधिकहरूलाई तालिमसमेत दिँदै आएको छ ।
कम्पनीले आफूसँग आबद्ध ६५ जना प्राविधिकको बीमा गरिदिएको छ।
सजिलो मर्मत सेवाले रिलिफ फन्डका लागि एक लाख रुपैयाँ प्रदान गरेको छ भने जमर्नीका फ्रान्जिस्का डाइटेलले नेतृत्व गरेको माइन्डग्रोथ नामक संस्थाले पनि कोष विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
के हो त सजिलो मर्मत सेवा?
घरायसी तथा व्यापारिक संस्थाका भवनको मर्मत–सम्भारलाई आवश्यक सम्पूर्ण मिस्त्री–सेवा उपलब्ध गराउने संस्था हो, सजिलो मर्मत सेवा प्रालि। यसले आफ्ना दक्ष प्राविधिकमार्फत् सेवा–सुविधा दिने गरेको छ। नेपालको सर्वाधिक ठूलो सेवाप्रदायक इकाई बन्ने यसको लक्ष्य छ ।