भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको भाका १ वर्ष पर सरेको छ। गएको वर्ष सन् २०२० को मार्चमा सञ्चालन गर्ने घोषणा गरिएको भएपनि सरकारले फेरि एक वर्ष पर सारेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२० को डिसेम्बरसम्म निर्माणको म्याद थप गरिएको र सन् २०२१ को मार्चसम्म उडान सुरु गरिने नयाँ लक्ष्य रहेको बताएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसका कारण निर्माणको काममा अवरोध भएको र लगत्तै वर्षा सुरु भएकाले निर्माण तथा सञ्चालनका लागि केही थप समय लाग्ने जानकारी दिए।
चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको उक्त विमानस्थलमा समय थप हुँदै आएको छ।
त्यस्तै निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलका लागि जुरिचसँग व्यावसायिक योजना माग गर्ने समयसीमा बढाएर सेप्टेम्बरसम्म कायम गरिएको छ।