मुक्तिश्री प्रालिका अध्यक्ष अजय सुमार्गीले भदौदेखि सुर्खेतको सिमेन्ट उद्योग संचालनका लागि काम सुरू हुने बताएका छन्।
८ वर्षदेखि सुर्खेतमा ‘चौकुने सिमेन्ट कारखाना’ खुल्ने चर्चा चलेको हो। २ अर्ब लगानी गर्नेगरी मुक्तिश्री प्रालिले लाइसेन्स पाएको थियो। बिहीबार वीरेन्द्रनगर पुगेका सुमार्गीले यहाँका उद्योगीहरूसँग भेट गरी कारखानाको काम सुरू गरिने जानकारी दिए।
‘म दुई अर्बको लगानी गरेर अर्को वर्षको भदौमा सिमेन्ट उत्पादन गरेरै छाड्छु,’ सुमार्गीले भने, ‘यहाँ उत्पादन भएको सिमेन्ट दिल्ली र लखनउको बजारमा जान्छ।’ चौकुनेमा बन्ने सिमेन्ट कारखानाका बारेमा कुनै आशंका नगर्न उनले कर्णालीवासीलाई आग्रह गरे।
उनले कारखाना बन्ने स्थानमा रहेका स्थानीय र काम गर्नेको पनि कारखानामा लगानी हुनेगरी योजना बनाइएको बताए। उनका अनुसार कारखाना बन्ने स्थानका जग्गादातालाई ५० हजार बराबरको र कामदारलाई तलबबाट कट्ने गरी सोही बराबरको सेयर दिइने छ।
जनतालाई पनि लगानीकर्ता बनाउने आफ्नो योजना रहेको बताउँदै सुमार्गीले भने, ‘मैले त्यस्तो गरेको खण्डमा बन्द र हड्ताल हुँदैन र कम्पनीले द्रुत गतिमा काम गर्छ।’
उनले कारखानामा ७ सय जनाले काम पाउने र प्रतिदिन ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुने जानकारी दिए।
‘अहिले हामीलाई बाटोको समस्या छैन, तिखाकुनाबाट भएर हामी सामान ढुवानी गर्नेछौं,’ सुमार्गीले भने, ‘तर बिजुलीको समस्या भने छ, यसका लागि हामीले प्रदेश सरकारसँग कुरा गरिरहेका छौं ।’
उनले बिजुली नपुगेसम्म जेनेरेटर चलाएर भए पनि उत्पादन सुरू गरिने प्रतिवद्धता जनाएका छन्। त्यसका लागि ५५ सय केभीका दुइटा जेनेरेटर ल्याइने उनले जानकारी दिए ।