गण्डकी प्रदेशमा बजेटको खर्च सुस्त गतिमा अगाडि बढेको छ।
चालू आर्थिक वर्षको १० महिनाको अवधिमा २० प्रतिशत मात्रै बजेट खर्च भएको छ।
कुल बजेटको ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको प्रदेश सरकारले सुस्त गतिमा बजेट खर्च भएपछि लक्ष्य भेट्टाउन मुश्किल देखिएको छ।
१० महिनाको अवधिमा गण्डकी प्रदेशमा ४ अर्ब ७७ करोड रुपैयाँ मात्रै खर्च भएको छ।
यो बजेटको १९ दशमलव ८६ प्रतिशत मात्रै हो।
गण्डकी प्रदेश सरकारले चालू खर्चतर्फ २ अर्ब १२ लाख ४३ हजार रुपैयाँ खर्च गरेको छ।
८ अर्ब ११ करोड चालू खर्च रहेको प्रदेश सरकारले १० महिनाको अवधिमा २६ प्रतिशतमात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकी प्रदेशका प्रदेश लेखा नियन्त्रक जयराम पौडेलले जानकारी दिए।
त्यस्तै, पुँजीगत खर्चतर्फ प्रदेश सरकारले २ अर्ब ६४ करोड मात्रै खर्च भएको बताए। १५ अर्ब ९० करोड बजेट छुट्याएको पुँजीगत खर्चतर्फ हालसम्म १७ प्रतिशत मात्रै खर्च भएको उनले बताए।
गण्डकी प्रदेशमा सबभन्दा धेरै खर्च गर्ने मन्त्रालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय पहिलो नम्बरमा छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा ८० प्रतिशत बजेट खर्च गरेको छ। सबभन्दा भन्दा कम खर्च गर्ने मन्त्रालयमा आन्तरिक मामिला मन्त्रालय रहेको छ। उसले चालू आर्थिक वर्षको १० महिनामा १० प्रतिशत बजेट खर्च गरेको छ।
त्यसैगरी, पूर्वाधार विकास मन्त्रालयले २३ प्रतिशत, कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालयले १२ प्रतिशत खर्च गरेको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३१ प्रतिशत खर्च गरेको छ।
सामाजिक विकास मन्त्रालयले १८ प्रतशित खर्च गरेको छ। गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५/७६ का लागि २४ अर्ब २ करोडको बजेट प्रस्तुत गरेको थियो।
बजेट खर्च नहुनुमा संघीयताको मूल मर्म अनुसार स्रोत र साधनको अभाव मूल कारण रहेको गण्डकी प्रदेश सरकारले बताउँदै आएको छ।