पेट्रोलियम पदार्थको चोरी तथा चुहावट नियन्त्रण गर्न नेपाल आयल निगमले सुरु गरेको ट्याङ्करमा तालाबन्दी (सिल) प्रणाली रुपन्देहीस्थित भलवारी क्षेत्रिय डिपोले कार्यान्वयनमा ल्याएको छ।
भारतबाट आयात गर्दा ढुवानीको क्रममा बिच बाटोमा हुने ट्याङ्क/ट्रक सुरक्षात्मक लकिङ प्रणाली नाम दिईएको यो पद्धति लागु भएपछि भारतको बैतलपुरबाट नेपाल ल्याउँदा बिचबाटोमा हुने चुहावट नियन्त्रण हुने नेपाल आयल निगमले जनाएको छ।
निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीका प्रमुख अशोककुमार शाहले सिल प्रणाली शुरु भएपछि विगतमा बीचबाटोमा हुंदै आएको चोरी र चुहावट रोकिने बताए।
यस अघिको ट्याङ्कर लकिङ प्रणाली सुरक्षित नभएकाले अहिले त्यसलाई परिमार्जन गर्दै सजिलोसंग निकाल्न नमिल्ने र निकाली हाले पनि थाहा हुने तरिकाको प्रविधि जडान गरिएकाले चुहावट रोकिने निगमले बताएको छ।
लकिङ प्रणाली गुणस्तर र परिणाम सुधारका लागी निगमले थालेको यो पहिलो कदम हो। पहिलो चरणमा भारतबाट आयात गर्दा यो सिल लगाईने र दोस्रो चरणमा निगमबाट पम्पसम्म लैजादा पनि यही पद्धती लागु गरिने निगमले बताएको छ।
निगमको भलवारी डिपोका लागि डिजेल र पेट्रोल ढुवानी गर्न भारतको बैतालपुर पुगेका ट्याङ्करमा पेट्रोलियम पदार्थ लोड गरेपश्चात तालाबन्दी गरेर ढुवानीको सुरुवात गरिएको थियो। ति ट्याङ्करहरु भलवारीमा आएपछि त्यसको औपचारिक सुरुवात भएको घोषणा निगमले गरेको हो।
भारतको बैतालपुरबाट भलवारी डिपोका लागि कुल १ सय ९३ वटा ट्याङ्करले पेट्रोलियम पदार्थको ढुवानी गर्ने गर्दछन्।
जसमध्ये तत्काल ३२ वटा ट्याङ्करमा तालाबन्दी गर्न मिल्ने गरी तयार पारिएको छ भने ट्याङ्करमा पनि ताला लगाउन मिल्ने गरी ट्यांकर धनीले तयारी गरिरहेको निगमले बताएकोे छ।
यसभन्दा अघि पेट्रोलियम पदार्थ लोड गरिसकेपछि ट्याङ्करमा सामान्य एउटा मात्र तारले सिल गरेर ढुवानी गर्ने गरिन्थ्यो।
जुन भरपर्दो नभएका कारण केही ट्याङ्करबाट चालक आफैंले र चालकसंगको मिलेमतोमा अन्य व्यवसायीले निगमको डिपोमा अनलोड हुनुअगावै पेट्रोलियम पदार्थको चोरी गर्ने घटनाहरु बारम्वार बाहिर आएका थिए।
ढुवानीका क्रममा पेट्रोलियम पदार्थ चोरी हुने गरेको भन्दै व्यवसायीले लकिङ प्रणाली लागु गर्न नेपाल आयल निगमसंग माग गर्दै आएका थिए। पेट्रोलियम पदार्थ ढुवानीमा लकिङ प्रणाली लागु भएसंगै अब व्यवसायीले तिरेको मुल्य बराबरकोे पेट्रोलियम पदार्थ पाउने अपेक्षा गरेका छन्।
मूल्य अनुसारको पुरा तेल उपलब्ध गराउनका लागि नेपाल आयल निगमले सुरक्षात्मक लकिङ प्रणाली सुरु गरेको हो। व्यवसायीले प्रति ट्याङ्कर १ सय देखि २ सय ५० लिटरसम्म पेट्रोलियम पदार्थ कमी आउने गरेको गुनासो गर्दै आएका थिए।
लकिङ प्रणाली पहिलो चरणमा भारतको आईओसीदेखि नेपालको एनओसीसम्म लागु गरिने र क्रमशः नेपालको एनओसीबाट व्यवसायिको पेट्रोल पम्पसम्म लागु गरिने बताए। नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोहितले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर र ट्रकमा लकिङ प्रणाली लागु गरिएको बताए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सुरक्षात्मक लकिङ प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताए।