चीन र बंगलादेशसँग पिटिए गर्ने उर्जामन्त्री पुनको घोषणा


ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एशिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग सुरू भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।

उनले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत विकासमा उल्लेख्य सुधार भएको दाबी समेत गरेका छन्।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत व्यापार तथा समन्वय प्रक्रिया सुरू भएको जानकारी दिएका थिए। उनले भारतसँग विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको जानकारी दिँदै अब बङ्गलादेश र चीनसँग पनि छिट्टै उक्त सम्झौता हुने बताएका छन्। मन्त्री पुनले उर्जा तथा विद्युतको क्षेत्रमा चीनसहित सार्क र विमस्टेकस्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा मन्त्री पुनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत उत्पादन विस्तार गर्न आवश्यक रहेको बताएका थिए।
‘हामीले भारतसँग पिटिए सम्झौता गरिसकेका छौं, अब चीन र बंगलादेशसँग पनि हामी पिटिए गर्ने तयारीमा छौं, यसबाट क्षेत्रीय विकासमा योगदान पुग्ने विश्वास हामीले लिएका छौं’ मन्त्री पुनले भने।

उनले दिगो र गुणस्तरीय विद्युत विकास गर्न क्षेत्रीय सदस्यबीच सम्बन्ध बलियो हुनुपर्ने धारणा समेत कार्यक्रममा राखेका थिए।
मन्त्री पुनले नविकरणीय उर्जालाई प्रवद्र्धन गर्ने सरकारको नीति भएको बताए। वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको भन्दै उर्जा क्षेत्रमा लगानी गर्न समेत उनले आग्रह गरेका छन्।

सदस्य राष्ट्रहरूको घनिष्ट सम्बन्धमा जोड दिँदै उर्जामन्त्री पुनले विद्युतलाई आर्थिक विकाससँग जोड्न पनि सदस्य राष्ट्रबीच अन्तर–आवद्धता आवश्यक रहेको बताए।

उर्जामन्त्रीले भेटे म्यानमार र पाकिस्तानी समकक्षी

उर्जामन्त्री पुनले म्यानमारका उर्जामन्त्री जयर अंग र पाकिस्तानी समकक्षी अहमद खानसँग भेटवार्ता गरेका छन्।

मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काकाअनुसार भेटमा पाकिस्तानी उर्जामन्त्रीले आफ्नो देशको उर्जा क्षेत्रको अवस्थाका बारेमा उर्जामन्त्री पुनलाई जानकारी गराएका थिए। पाकिस्तानी उर्जामन्त्री नविकरणिय उर्जामा जोड दिन र स्मार्ट विलिङ सिस्टममा जान मन्त्री पुनलाई सुझाव दिएका थिए।

विमस्टेक उर्जा फोरमको अध्यक्षता गरिरहेको म्यानमारका उर्जामन्त्री जयर अंगसँगको भेटमा मन्त्री पुनले फोरमको तेस्रो बैठकको अध्यक्षता नेपालले गर्ने तयारी गरिरहेको जानकारी दिएका थिए। उनले त्यसको अवसरमा नेपाल भ्रमण गर्न समेत निम्तो दिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.