उर्जामन्त्री पुन र चिनियाँ राजदूतबीच भेटवार्ता


उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ।

मन्त्री पुनसंगको भेटमा चिनियाँ राजदूतले नेपाल र चीनबीच भावनात्मक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए।

राजदूत होङले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चिनिया सरकार र निजी क्षेत्र ईच्छुक रहेको भन्दै त्यसका लागी सरकारले पनि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

चिनियाँ राजदूतले मन्त्री पुनसंगको भेटमा हाल चिनियाँ कम्पनीले करिव ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र तीन वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी समेत दिइन्।

उनले ‘वान वेल्ट वान रोड’ परियोजनामा नेपालले हस्ताक्षर गरिसकेपछि चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको समेत बताइन्।

राजदूत होङले चिनियाँ कामदारको भिषा प्रक्रियामा समस्या भएको भन्दै त्यसमा देखिएको कानुनी समस्या समाधान भए परियोजना निर्माणमा सहज हुने धारणा राखेकी थिइन्। उनले उर्जा क्षेत्रमा चीन र नेपालको संयन्त्र निर्माण गर्ने विषयलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको जानकारी समेत दिइन्।

उनले चिनियाँ सरकार नेपालको जलविद्युत क्षेत्रको विकासमा सहयोग गर्न सधै तयार रहेको धारणा समेत राखिन्। चीन र नेपालको राजनीतिक सम्बन्ध समेत निकै सुमधुर भएको भन्दै राजदूत होङले उर्जामन्त्रालयसंग काम गर्न चिनिया सरकार ईच्छुक रहेको बताइन्।

मन्त्री पुनले नेपालमा लगानीको वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तयार रहेको भन्दै थप लगानीको लागी पहल गर्न राजदूत होङलाई आग्रह गरेका थिए।

‘नेपालमा चिनियाँ कम्पनीले भोगेका समस्याको बारेमा हामी गम्भिर छौ, त्यसमा देखिएका समस्या समाधान गर्न सरकारले कुनै कसर बाकि राख्दैन।’ भेटमा मन्त्री पुनले भने।

‘वान वेल्ट वान रोड’ परियोजनामा नेपालको सहभागीताले दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुगेको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार तयार भएको धारणा राखे।

नेपालमा चिनियाँ लगानीकर्तालाई लगानीको वातावरण बनाउन सरकार तयार रहेको भन्दै मन्त्री पुनले नेपालमा उत्पादन हुने विद्युत खपत नेपालभित्रै हुने वातावरण निर्माण गरिने समेत जानकारी दिए। उनले १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य भएको भन्दै त्यसका लागी ठुला आयोजना निर्माणमा सरकारको ध्यान जाने बताए।

राजदूतसंगको भेटमा मन्त्री पुनले ठुला आयोजना निर्माणको लागी चीनबाट ऋण सहयोग र सहायताको विषयमा समेत छलफल गरेका थिए।

राजनीतिक स्थिरता सहित सुशासन र सम्बृद्धिको वातावरण बनाउने नयाँ सरकारको योजना रहेको मन्त्री पुनको भनाई थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.