अर्थमन्त्री भन्छन्-भन्सार छलेर समस्या समाधान हुँदैन


अर्थमन्त्री डा खतिवडाले व्यापारीहरुलाई बिलबिजकको आधारमा वस्तुको कारोबार गर्न आग्रह गरेका छन्। विलको आधारमा वास्तविक मूल्यमा कारोबार गरेर राज्यको राजश्व शंकलमा सहयोग पु¥याउन खतिवडाले आव्हान गरे।

नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधिमण्डलसँगको भेटमा खतिवडाले व्यवसायीले इमान्दारीपूर्वक व्यापार गरे भन्सारमा देखिएको समस्या समाधान हुने बताए।
चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठ आयातित मालसामानहरु सन्दर्भ मूल्य अनुसार जाँंचपास गर्न लागेकोले उद्योगी व्यवसायीहरुलाई मर्कामा परेको अवगत गराएका थिए। कारोबार मूल्यका आधारमा जाँचपास हुनुपर्ने उनको माग थियो।

समस्या जतिसुकै भएपनि इमान्दारिता र अनुशाशनपूर्वक प्रस्तुत भएपछि समाधान भएर जाने मन्त्री खतिपडाले बताए।  उत्पन्न समस्या समाधान गर्न सरकार र निजी क्षेत्र मिलेर अगाडि वढ्नपर्ने खाँंचो खतिवडाले औल्याए।

व्यवसायीले भन्सारमा वास्तविक मूल्य घोषणा गरेपछि एकातिर राजश्व संकलन पनि बढ्ने र अर्कोतिर बजारमा हुने अनावस्यक अनुमगन पनि बन्द हुने उनको भनाइ छ।

‘बजार अनुगमनका क्रममा फरकफरक निकायहरुले अनुगमन गर्दा समस्या उत्पन्न हुने गरेको छ’ उनले भने,‘यसको एउटै समाधान हो भन्सारमा बिलको आधारमा मूल्य घोषणा।’

चेम्बरका अध्यक्ष श्रेष्ठले वैंकको चर्काे व्याजदरले व्यवसाय चौपट हुने अवस्था आएको मन्त्रीलाई अवगत गराएका थिए। ६ देखि ७ प्रतिशतमा रहेको व्याजदर अहिले बढेर १३ देखि १४ प्रतिशतको उकालो लागेको भन्दै यसले व्यापारीलाई समस्यामा पारेको उनको भनाइ थियो।

बैंकमा अहिले देखिएको तरलता समस्याको दीर्घकालिन समाधानका लागि स्वदेशी तथा विदेशी पुँंजीको परिचालन आवश्यक भएको मन्त्री खतिवडाले औल्याए। पुँजी परिचालनका लागि नीतिगत व्यवस्थाको तयारी सुरु भइसकेको खतिवडाले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.