भोलिदेखि काठमाडौं-दाङ सिधा उडान, उडान अगावै टिकट अभाव


दाङदेखि काठमाडौं जान प्लेन टिकट अभाव भएको छ। आइतबार काठमाडौं जान चाहने कतिपय यात्रुले टिकट नपाएको सेतोपाटीसँग गुनासो गरेका छन्। ‘म उपचारका लागि आइतबार काठमाडौं पुग्नुपर्ने बाध्यता थियो, तर दाङमा टिकट पाइनँ र नेपालगञ्जबाट काठमाडौंजान लागेको छु,’ एक महिला यात्रुले भनिन् , ‘त्यहाँ त पहुँचका आधारमा टिकट बिक्दो हुँदोरहेछ।’

तुलसीपुरस्थित प्लेनको टिकट काउन्टरमा यसबारे बुझ्दा बिहीबार नै काठमाडौंका लागि सबै टिकट बिक्री भइसकेको जानकारी दिए।

‘बिहीबार नै दाङ–काठमाडौंको लागि सबै टिकेट बुक भइसकेको हुँदा अरूलाई टिकेट दिन नसकिएको हो,’ तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी तथा टिकट बिक्रिकोससमेत जिम्मा लिएका झरेन्द्र खरेलले भने, ‘एक दर्जन बढी व्यक्ति टिकट खोज्न शुक्रबारसम्म आए पनि आफूले दिन सकिनँ।’

यसैबीच सूचना अधिकारी खरेलले अर्को उडानका लागि समेत अधिकांस टिकट बिक्रि भइसकेको जानकारी दिए।

झन्डै नौं महिना पछि दाङको टारिगाउँ विमानस्थलबाट आइतबारदेखि फेरि उडान सुरू भएको हो।  २०७३ साल चैत २ गतेदेखि दाङको विमान सेवा रोकिएको थियो।

पछिल्लो समय समिट एयरले सातामा दुई दिन आइतबार र शुक्रबार उडान भर्ने तयारी गरेको छ। तर, जिल्लाबासीले आइतवार र बुधवार समय मिलाउँदा राम्रो हुने सल्लाह दिएको खरेलले बताएका छन्।

दाङदेखि काठमाडौंका लागि प्रतिव्यक्ति ६ हजार ८ सय भाडादर निर्धारण गरिएको छ भने काठमाडौंबाट दाङका लागि ७ हजार २ सय भाडादर निर्धारण गरिएको छ।

आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट ११ बजे दाङका लागि समिट एयरले उडान भर्ने जानकारी दिइएको छ। झन्डै आधा घन्टाको पछि विमान तुलसीपुरको टरिगाउँ एयरपोर्टमा अवतरण गर्नेछ ।

महरादेखि मेयरसम्म प्लेनमा आउने

झन्डै एक वर्षको अन्तराल पछि फेरि विमान सेवा सुरु हुन थालेपछि पहिलो उडानमा नेकपा माओवादीका नेता कृष्णबहादुर महरादेखि यसक्षेत्रका जनप्रतिनिधि काठमाडौंबाट दाङ आउने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका अनुसार विमानमा विना विभागिय मन्त्री तथा पूर्व उपप्रधानमन्त्री महरा, दाङ निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी , सल्यानका प्रदेश सभा सदस्य प्रकाश ज्वाला र मेयर पाण्डे आउने छन्।

लामो समयको कसरत पछि विमान सेवा सुचारु हुन लागेको हुँदा जनप्रतिनिधि र मन्त्रीहरु प्लेनमा आउन थालेको मेयर पाण्डेले बताए।

२०११ सालबाट सञ्चालनमा आएको विमानस्थल यसअघि पटक/ पटक गरेर चार पटक रोकिदै र सञ्चालन हुँदै आएको थियो। निर्वाचन पूर्व मेयर पाण्डेले दशैंअघि नै विमान सूचारु गराउने प्रतिवद्धता जाहेर गरेका थिए। तर, पछिल्लो समय दाङको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महराको पहलमा प्लेन आउने वातावरण वनेको कतियले बताउने गरेका छन्।

महराले दाङ प्रदेश नं. ५ को राजधानी हुने निश्चित भएको हुँदा अबिलम्व विमान सेवा सुचारु गर्ने बचन दिँदै आएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.