सडक डिभिजन कार्यालय मकवानपुरले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ बायाँका संरचना हटाउने भएको छ।
शुक्रबार सूचना जारी गर्दै कार्यालयले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडकको दायाँबायाँ ७५ फिटभित्र बनेका संरचना हटाउन भनेको हो।
त्यहाँ रहेका स्थायी/अस्थायी घरटहरा हटाउन कार्यालयले १५ दिनको समय दिएको छ।
१५ दिनभित्र नहटाए कार्यालय आफैले हटाउने र सोबापत लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने सूचनामा उल्लेख छ।
सर्वोच्च अदालतले ०७८ पुस १९ गतेको आदेश र संरचना हटाउन सडक डिभिजनले यसअघि जारी गरेको सूचनाविरूद्ध परेका रिट पनि अदालतबाट खारेज भइसकेको कार्यालयले जनाएको छ।
कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्रदेखि दायाँबायाँ दुवैतिर २५/२५ मिटर कायम गरिएको र तोकिएको सिमाभित्र विभागको स्वीकृत प्राप्त नगरी सडकसँग जोडिने गरी संचरना बनाउन ऐनले पनि निषेध गरेको जनाएको छ।
ती संरचना खाली गराउन विगतमा पनि सूचना जारी भएको कार्यालयले जनाएको छ।
