सोमबारदेखि नौरथा प्रारम्भ भएको छ। आज घरघरमा घटस्थापना गरेदेखि दसैंको चहलपहल ह्वात्तै बढेको हो।
चाडपर्वको चटारोले छोपेसँगै काठमाडौं उपत्यका छाड्नेहरूको संख्यामा बढोत्तरी आएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लोकेन्द्र सिंह गुरूका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म ४३ हजार यात्रुले काठमाडौं, ललितपुर, भक्तपुरको विभिन्न नाका हुँदै बाहिरिएका छन्। २४ घन्टाको सोही अवधिमा २८ हजार यात्रु काठमाडौं उपत्यका भित्रिएका छन्।
उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेसँगै सडकको अवस्था कस्तो छ भनेर सबैलाई चासो छ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार काठमाडौं उपत्यकाबाट बाहिरिने राजमार्गमा कुनै अवरोध छैन।
पछिल्लो समय नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलानजिकै पहिरो खसिरहेको थियो।
तुइन खोलामा झरेको पहिरो हटाएसँगै नारायणघाट-मुग्लिन सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले सोमबार साँझ साढे ५ बजेबाट सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको जानकारी दिएको हो।
संघीय राजधानी जोड्ने राजमार्गअन्तर्गत रसुवागढी जोड्ने सडक ठाउँठाउँमा अवरूद्ध छ। कोदारी राजमार्ग सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इको पहिरोका कारण अवरूद्ध छ। त्यस स्थानमा साउनको १८ गते पहिरो खसेको थियो। निरन्तर पहिरो खस्ने क्रम नरोकिएकाले उक्त ठाउँमा यातायात सञ्चालन गर्न सकिएको छैन। फलफूल तथा लत्ता कपडा बोकेका कन्टेनर नाकामै अड्किएका छन्। केरूङ नाकामा रहेको मितेरी पुल नै भेलबाढीले बगाएकाले त्यहाँबाट पनि मालसामान आयात हुन सकेको छैन। अहिले मुस्ताङको कोराला नाकाबाट सामान आयात गर्न थालिएको छ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख न्यौपानेका अनुसार काठमाडौंबाट बाहिरिने महत्त्वपूर्ण नाका नागढुंगा–नौबिस–मुग्लिन हुँदै पृथ्वी राजमार्गको खण्ड निर्बाध सञ्चालनमा छ। नागढुंगा–मुग्लिन सडक हुँदै औसत दैनिक साढे तीन हजार सवारी साधन बाहिरिन्छन्। यी सवारी साधनमार्फत् ३१ हजार यात्रु बाहिरिन्छन् र त्यति नै संख्यामा भित्रन्छन् पनि।
अहिले नागढुंगा–मुग्लिन तीन खण्ड टुक्र्याएर निर्माणको उपक्रममा छ। नागढुंगादेखि नौबिसेसम्म, नौबिसेदेखि मलेखु र मलेखुदेखि मुग्लिनसम्म गरी तीन खण्डमा विस्तारको काम भइरहेको छ। नागढुंगादेखि नौबिसेसम्म विस्तारको काम करिब सकिएको छ। बाँकीमा निर्माणाधीन छ। यी खण्डमा कुनै अवरोध नरहेको न्यौपानेले जानकारी दिए।
मुग्लिन पोखराको पश्चिम खण्ड करिब पूरा भएको छ। पश्चिम खण्डमा भने काम बाँकी छ। केही स्थानमा पिच गर्न बाँकी रहे पनि त्यहाँ अवरोध छैन। विस्तारकै क्रममा रहेको नारायणगढ–बुटवलको दाउन्ने खण्डको १४ किलोमिटर बाटो असहज छl पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य भए पनि अवरूद्ध न नरहेको भरतपुर सडक डिभिजनले जानकारी दिएको छ।
यता कान्ति लोकपथमा पनि यसपालिको मनसुनले खासै ठूलो क्षति नपुर्याएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख न्यौपानले बताए।
‘कान्ति लोकपथमा पनि निर्वाध सवारी साधन चलेका छन्। दसैं लागिसकेकाले स्वाभाविकरूपमा यात्रुहरूको चाप बढेको छ,’ उनले भने।
अघिल्लो असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछिको भेलबाढीले क्षतिग्रस्त तुल्याएको बिपी राजमार्ग पनि निर्माणाधीन छ।
क्षतिग्रस्त बिपी राजमार्गलाई अहिले चार खण्डमा टुक्र्याएर पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ। यसमध्ये एक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बनाइदिने भएको छ। तीन खण्ड भक्तपुर सडक डिभिजन र सिन्धुलीले ठेक्का लगाएका छन्।
साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार यस वर्षको मनसुनले बिपी राजमार्गमा ठूलो क्षति पुर्याएको छैन। भदौ मसान्तदेखि असोजको ३ गतेसम्मको वर्षातले रोशीको बहाव बढेको उनले बताए।
‘यस वर्ष असार साउनमा रोशीले धेरै दुःख दिएन। हामीले बनाएको डाइभर्सन, अस्थायी संरचना बगाएन,’ उनले भने, ‘अहिले सवारी साधन निर्वाध गुडेका छन्।’
उनले दसैं नजिकिएसँगै बिपी राजमार्गमा पनि सवारीको चाप बढेको बताए। केही ठाउँमा यात्रा असहज भए पनि रोकिनुपर्ने अवस्था नरहेको बताए।
‘मनसुन अगाडिदेखि नै खोला खार्ने, बहाव परिवर्तन गर्ने लगायत काम गरेर सवारी आवागमन सहज बनाउने कोसिस गरेका थियौं, त्यसले वर्षायाममा खासै समस्या भएन। मनसुन याम नै बाँकी रहेकाले अहिले नै भन्न सकिँदैन। तर ठूलो जोखिम टर्यो जस्तो लाग्छ,’ उनले भने।
साइट इन्जिनियर दुर्गा प्रसादले अरनिको राजमार्ग पनि निर्वाध सञ्चालनमा रहेको बताए। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल र धुलिखेल–खावा सडक निर्माणाधीन छ। सूर्यविनायक–धुलिखेल दुई खण्डमा टुक्र्याएर विस्तार भइरहेको छ। मध्य बर्खामा निर्माणको काम रोकिए पनि अहिले दुवै खण्डमा काम चालू छ। धुलिखेल–खावा सडक खण्ड दोस्रोपटक ठेक्का लागेर निर्माणको चरणमा छ।
यसबाहेक बल्खु–हेटौंडा, गल्छी–त्रिशूली, सीतापाइला–धार्के लगायत सडक खण्ड पनि सञ्चालनमा छन्।