ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत् निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत आयोजनालाई ऊर्जा सचिवस्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ।
ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण प्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गर्दै आयोजनाको समयमै सम्पन्न गर्ने भूमिका खेल्न आवश्यक निर्देशन दिए। उनले शुभकामना समेत व्यक्त गरे।
भारतीय अप्पर कर्णाली हाइड्रोपावरसँग समन्वय गरी अनुमति प्रदान गरिएको सचिव आचार्यले जानकारी दिए। सचिव आचार्यले वर्षौंदेखि अनुमति प्रक्रिया रोकिएर निर्माण अघि बढ्न नसक्दा उत्पादक, लगानीकर्ता र सञ्चयकर्ताहरू निराश भइरहेका बेला ऊर्जामन्त्री दीपक खड्काको निर्देशनपछि अनुमति प्रदान गरिएको बताए।
कार्यक्रममा आयोजना क्षेत्रका जनप्रतिनिधि, कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरू पुष्प बहादुर शाह, शेर बहादुर कुँवर र ह्रदयराम थामीको समेत उपस्थिति थियो।
उत्पादन अनुमतिपत्र पाएपछि कम्पनीका प्रवन्ध सञ्चालक कृष्णप्रसाद आचार्यले यसअघि रहेका जटिलताहरू कूटनीतिक पहलबाट समाधान गर्दै अनुमति दिन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्री र कर्मचारीहरू प्रति खुसी व्यक्त गरे।
कर्मचारी सञ्चयकोष, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेडबाट क्रमशः १५, १० र १० प्रतिशत लगानी रहने आयोजनाको कुल लागत करिब ९३ अर्ब रूपैयाँ रहने अनुमान गरिएको छ।
बाँकी ४० प्रतिशत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा कर्मचारीहरू र २५ प्रतिशत स्थानीय तथा सर्वसाधारणको सहभागिता रहनेछ।
निर्माण कार्य तत्काल सुरू गरी पाँच वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।