पावर समिट २०२५ आगामी असोज १ र २ गते (सेप्टेम्बर १७–१८, २०२५) काठमाडौंमा हुने भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकरूको संस्था, (इप्पान) को आयोजनामा हुन लागेको यो सम्मेलनका लागि 'मिसन २८,५०० मेगावाट: पावरिङ नेपाल, इनर्जिङ रिजन' भन्ने नाराका तय गरिएको छ।
सम्मेलनको जानकारी गराउन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गणेश कार्की तथा पदाधिकारीहरूले ऊर्जा क्षेत्रको हालको अवस्था र सम्भावनाको चर्चा गरे।
उनीहरूका अनुसार नेपालको कुल ३,६०२ मेगावाट विद्युत उत्पादन क्षमतामध्ये २,९०० मेगावाट निजी क्षेत्रले उत्पादन गरिरहेको छ।
निजी क्षेत्रको योगदान विगत २५ वर्षमा उल्लेखनीय रहेको छ, जसअनुसार १३ खर्बभन्दा बढी लगानी भइसकेको र आगामी दिनमा ५० खर्ब रूपैयाँको लगानी गर्ने योजना रहेको छ।
हाल ४,२०० मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् भने ४,१०० मेगावाट बराबरका परियोजनाहरूको विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको र वित्तीय व्यवस्थाको चरणमा छन्।
सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्र २०८१ ले आगामी १० वर्षमा थप २५,००० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।
यही लक्ष्यलाई मूर्तरूप दिन यो सम्मेलनलाई उच्च प्राथमिकताका साथ आयोजना गरिएको आयोजकहरूको भनाइ छ।
सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षणमा आयोजना हुने सम्मेलनमा भारतलाई देश साझेदारको रूपमा समावेश गरिएको छ।
सम्मेलनमा प्रधानमन्त्री, विदेशी उच्चपदस्थ अधिकारी, ऊर्जा विज्ञ, विकास साझेदार, लगानीकर्ता, निर्माण कम्पनी, बैंक तथा बीमा क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्।
सम्मेलनमा विद्युत तथा कार्बन व्यापार, जलवायु परिवर्तन, दिगो ऊर्जा विकास, नीतिगत सुधार, भौतिक पूर्वाधार निर्माण, ऊर्जा सुरक्षालगायत विषयमा व्यापक छलफल हुने आयोजकले जनाएका छन्।
इप्पानले यो सम्मेलनबाट नेपाललाई हरित ऊर्जा उत्पादनमा अग्रणी देशको रूपमा स्थापित गर्ने आशा राखेको छ।