कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।
कोशी प्रदेश सरकारको सोमबारको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम (संगठन तथा व्यवस्थापन सर्वेक्षण) स्वीकृत गर्दै यो निर्णय गरेको हो।
यसअघि कोशी प्रदेशमा सातवटा सहरी विकास कार्यालय र सातवटा पूर्वाधार कार्यालय मात्रै सञ्चालनमा थिए।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार यी कार्यालयहरू सबै जिल्लामा उपलब्ध थिएनन्; केही जिल्लामा सहरी र पूर्वाधार दुवै कार्यालय थिए भने कतिपय कार्यालयले दुई-तीनवटा जिल्ला हेर्ने जिम्मेवारी पाएका थिए।
अब भने प्रत्येक जिल्लाले आ-आफ्नो जिल्लाको मात्रै काम हेर्ने भएकाले सेवा प्रवाहमा सहजता आउने र काम छिटो-छरितो हुने मन्त्री भण्डारीले जानकारी दिएका छन्।