नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारतलाई औसत प्रतियुनिट ५.१५ रूपैयाँमा बिजुली बेचेर ३.३७ रूपैयाँमा किनिरहेको बताएको छ।
२०८२ साल जेठ ११ गते भारतको ऊर्जा विनिमय बजार (आइइएक्स) को रियल टाइम बजारमा बिजुलीको भाउ दिउँसोको समयमा प्रति मेगावाट घण्टा सरदर ७२ पैसा भारतीय रूपैयाँ अर्थात् प्रति युनिट नेपाली मुद्रामा १ पैसाभन्दा घटीमा झरेको पनि प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यो अहिलेसम्मकै सबैभन्दा सस्तो दर हो।
यो अवसरलाई सदुपयोग गर्दै सोही दिन प्राधिकरणले ३ हजार ८४० मेगावाट घण्टा बिजुली खरिद गर्यो। सोही दिन बेलुका प्राधिकरणले भारतलाई भारतीय रूपैयाँ ६/६० मा ५२७.५ मेगावाट घण्टा बिजुली निर्यात गरेको उल्लेख छ।
गत हप्ताको तथ्यांक (जेठ ३ देखि १० गतसम्म) अनुसार नेपालले २७,६४५.९४७ मेगावाट आवर ऊर्जा औसत ३.३७ नेपाली रूपैयाँमा आयात गरेको छ।
यस्तै ८,४१७.५२५ मेगावाट आवर बिजुली औसत ५.१५ नेपाली रूपैयाँमा निर्यात गरेको उल्लेख छ।
नेपालले रणनीतिक रूपमा ऊर्जाको व्यापार गरी आयातभन्दा उच्च दरमा निर्यात गर्न सफल भएको प्राधिकरणको भनाइ छ।
दिउँसोको समय अर्थात् सोलार आवरको समयमा आयातको दर सस्तो हुँदा विद्युत आयात गरी प्राधिकरणसँग उपलब्ध भएका जलाशय र अर्धजलाशय जलविद्युत आयोजनाहरूमा पानी भरिएको र ती आयोजनालाई गैर–सौर्य वा उच्च माग हुने समयमा प्रयोग गरिएको प्राधिकरणले जनाएको हो।
जसले निर्यात मूल्य उच्च राख्न सहयोग गरेको प्राधिकरणको भनाइ छ।