सडक भत्किएर शुक्रबार रातिदेखि अवरुद्ध बनेको बर्दघाट दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा आएको छ। शुक्रवार रातिको वर्षाका कारण सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट दाउन्ने खण्ड राति ११ बजेदेखि पूर्ण रूपमा अवरुद्ध बनेको थियो।
पूर्वपश्चिम जोड्ने एक मात्र सडक अवरुद्ध बनेपछि पश्चिमबाट पूर्वतर्फ जाने सवारी साधन बर्दघाटमा र पूर्वबाट पश्चिमतर्फ आउने सवारी साधन दुम्किबास क्षेत्रमा रोकिएका थिए।
विस्तारको क्रममा रहेको सडक माथिबाट पहिरो झर्ने र सडक तलबाट भत्किएपछि शनिबार बिहानैदेखि सडक मर्मत गरेर सवारीसाधनको आवागमन सुचारु गर्ने प्रयास गरिएको थियो।
भत्किएको सडकमा ह्युमपाइप राखेर बिहान साढे १० बजेदेखि सडकमा यातायात सरू गरिएको बुटवल- नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले जानकारी दिए।
मिश्रले खुर्साने खोला नजिकै भत्किएको सडकको डिलतर्फ ह्युमपाइप राखेर एकतर्फी आवागमन सुचारु गरिएको बताए।
‘सडकको डिल भत्किए पनि भित्तातर्फको एउटा लेन कालोपत्रे गरिएको र सोही क्षेत्रबाट सवारीसाधन आवतजावत गराइएको छ, भत्किएको सडकको डिललाई उठाएर दुईतर्फी गर्ने प्रयास जारी छ,' मिश्रले भने।
इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी नायब निरीक्षक तीर्थराज भुसालले पनि सडक मर्मत गरेर अहिले एकतर्फी रूपमा सडक सुचारु गरिएको जानकारी दिए।
बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्साने खोला नजिकै सडकमाथि बाट पहिरो झरेको र तलतर्फको डिल भत्किएको छ। दाउन्ने र बर्दघाट बजारको बिचमा पर्ने खुर्साने खोला क्षेत्रमा करिब ७ मिटर सडकको डिल भत्किएको छ भने बिस्तारको क्रममा गरिएको कालोपत्रे पनि उप्किएको छ।
बर्षापछि खुर्साने खोलासँगै बगेर आएको गेग्रानसहितको भेलले सडकको कालोपत्रे उप्काएको छ। विगत ६ वर्षदेखि बुटवल नारायणगढ सडक खण्ड विस्तारको क्रममा रहेको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडक ६ वर्षसम्म पुरा नहुँदा धुलो र हिलोले सास्ती भोगेका यात्रुलाई बेलाबेलामा झर्ने पहिरोका कारण झनै समस्यामा पार्ने गरेको छ।
बुटवलदेखि नारायणगढ सम्मको करिब ९४ किलोमिटर सडक एकतर्फी रूपमा कालोपत्रे भए पनि १४ किलोमिटर रहेको दाउन्ने खण्ड अलपत्र परेपछि पछिल्लो एक महिना यता आंशिक रूपमा बन्द गरेर सडक निर्माणको कार्य भइरहेको थियो।
विस्तारको क्रममा दायाँबायाँ भित्ता खनिएको कारण घाम लाग्दा धुलोले ढाकिने सडक पानी पर्दा हिलोले चिप्लिएर सवारी साधन सञ्चालन बन्द हुने गरेको छ।