नेपाल विद्युत प्राधिकरणले विश्वसनीय विद्युत आपूर्तिका लागि सरोकारवाला निकायका गुनासो–समस्या सुन्ने, प्राविधिक समस्याहरूको जानकारी लिने तथा समस्याको पहिचान गर्ने अभियानको थालनी गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले त्यस्तो अभियानको सुरुवात कोशी प्रदेशबाट गरेको जानकारी दिए।
बिहीबार कोशी प्रदेशको विराटनगरमा त्यहाँका उद्योगी, व्यवसायी र वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गर्ने, त्यहाँ वरिपरिका सव–स्टेशन र वितरण केन्द्रको अनुगमन गर्ने जस्ता काममा मध्यरातसम्म आफू व्यस्त रहेको जानकारी शाक्यले दिए।
आर्थिक वर्ष २०८१ मा उच्चतम विद्युत खपत र नियमित महसुस भुक्तानीको आधारमा कोशी प्रादेशिक कार्यालय अन्तर्गतका उत्कृष्ट दश अत्यन्त महत्त्वपूर्ण उपभोक्तालाई सम्मान गर्ने कार्यक्रमका लागि विराटनगरमा आयोजित कार्यक्रममा पुगेका शाक्यले उक्त कार्यक्रमसँगै सरोकारवालाहरूसँग छलफल गरेका हुन्।
शाक्यले सामाजिक सञ्जालमा अनावश्यक रूपमा लोडसेडिङको हल्ला चलाइएको अवस्थामा विश्वसनीय विद्युत आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाउन पनि आफू अभियानकै रूपमा गुनासो सुन्ने र तत्काल समस्याको समाधान खोज्न निस्किएको जानकारी दिए।
'प्राधिकरणको प्रमुख ध्यान नै विश्वसनीय विद्युत आपूर्तिमा छ,' शाक्यले भने, 'विराटनगरमा पनि बिहीबार मध्यरातसम्म सरोकारवालाहरूसँग डेडिकेटेड फिडर, विद्युतको विश्वसनियता, नियमित विद्युत आपूर्तिलगायतका विषयमा केन्द्रित भएर छलफल गरेका छौँ।'
कार्यकारी निर्देशक शाक्यले उनीहरूले गरेका गुनासो ढुक्कसँग सुनेको भन्दै नियमित र विश्वसनीय विद्युत आपुर्तिमा प्राधिकरण प्रतिबद्ध रहेको भनी आश्वस्त पार्ने प्रयास गरेको समेत जानकारी दिए।
'कोशी प्रदेशका सबै वितरण केन्द्रका प्रमुखलाई बोलाएर उहाँहरूको प्रगति विवरण, त्यहाँ देखिएको समस्या र समाधानका उपायहरूसँग केन्द्रित भएर छलफल गरेको छु,' शाक्यले भने, 'नियमित विद्युत आपूर्ति, विद्युतको विश्वसनीयता र ग्राहकको गुनासोलाई तत्काल सम्बोधन गर्न निर्देशन पनि दिएको छु।'
प्राधिकरणको नेतृत्वसँग यसरी आफ्ना गुनासो र समस्याहरू सुनाउन पाउँदा र नेतृत्वले पनि योजनासहित समस्याको पहिचना गरी समाधानको उपाय खोज्ने बताउँदा खुशी लागेको भन्दै प्राधिकरणको सकारात्मक अभियानमा हातेमालो गर्ने प्रतिबद्धता शाक्यले गरे।
उनले विद्युत आपुर्तिमा समस्या भएको भनिएका औधोगिक क्षेत्रसँगै त्यहाँका वितरण केन्द्रहरूको पनि गहिरो गरी अनुगमन गरी प्राविधिक समस्याको समेत पहिचान गरी अघि बढ्ने र अभियानलाई निरन्तरता दिने जानकारी दिए।
'यो अभिानको सुरुवात विराटनगरबाट गरेका छौँ। अब वीरगञ्ज, भैरहवा, नेपालगञ्जलगायतका स्थानहरूमा पनि हामी यो अभियानलाई निरन्तरता दिन्छौं,' शाक्यले भने, 'हामीले बुझेको समस्या एक खालको हुन्छ। उद्योगी र उपभोक्ताहरूका समस्या र गुनासो हामीले बुझेको भन्दा फरक पनि हुन सक्छन्। त्यसैले हामी उहाँहरूका पनि समस्या सुनेर समस्याको पहिचान गर्दै अघि बढ्छौँ।'
उनले यो अभियान छलफल मात्रै नभई समाधानको खोजी पनि भएको उल्लेख गरे।