बिहीबार साँझपख सामाजिक सञ्जाल अन्धकार सहरका तस्बिरले ढाकिए। लामो समयको अन्तरालपछि धेरैबेर विद्युत आपूर्ति ठप्प भएको भन्दै सर्वसाधारणले सञ्जालमा विद्युत प्राधिकरणप्रति आक्रोशसमेत पोखेका छन्।
देशैभरि छिनछिनमै आउने–जाने भइरहेको बिजुलीले काठमाडौं, ललितपुर, भक्तपुरसहित धेरैतिर जनजीवन प्रभावित भएको छ। ललितपुर क्षेत्रमा त झण्डै एक घन्टासम्म लगातार विद्युत आपूर्ति अवरूद्ध हुनपुगेको छ।
पूर्वका पनि विराटनगर, झापा, धरान, इटहरी क्षेत्रमा झ्याप्प–झ्याप्प विद्युत आउनेजाने भइरहेको छ। नेपाल विद्युत प्राधिकरणले यस्तो समस्या देशैभरि देखापरेको जानकारी दिएको छ।
देशका धेरैजसो क्षेत्रमा यस्तो समस्या भएको सर्वसाधारणले सामाजिक सन्जालमार्फत गुनासो प्रकट गरेपछि सेतोपाटीले प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारलाई यसको कारणबारे सोधेको छ।
उनले भारतमा उत्पन्न समस्याले यस्तो अवस्था आएको बताए।
'हाम्रो सिस्टम गएर देशैभरि समसया देखिएको हो,' उनले भने, 'सिस्टम गएपछि रिस्टोर गर्दै बिजुली आइरहेको छ।'
भारतमा के भएर नेपालको विद्युत वितरण प्रणालीमा समस्या भएको हो भन्ने चाहिँ उनले खुलाउन सकेनन्।
'भारतमा कतातिर फल्ट भयो भन्ने नै थाहा भएन,' शिल्पकारले भने, 'भारतबाट समस्या भएर सिस्टम गएपछि हाम्रा पावर हाउसहरूमा पनि बत्ती जान्छ। त्यसपछि फेरि सिस्टम रिस्टार्ट गर्नुपर्छ। हामी सक्दो कोसिस गरिरहेका छौं।'
बिहीबार राति आठ बजे कुराकानीका क्रममा प्रवक्ता शिल्पकारले यस्तो समस्या भएको १५–२० मिनेट मात्रै भएको दाबी गरेका छन्। तर, देशका विभिन्न भागमा दिनैभरि यस्तो समस्या भएको गुनासो सामाजिक सन्जालमा छरपष्ट छ।
सामाजिक सन्जालका प्रयोगकर्ताहरूले झ्याप्प झ्याप्प बिजुली जाँदा प्राधिकरणका पूर्व प्रमुख कार्यकारी कुलमान घिसिङलाई पनि सम्झेका छन्। उनीहरूले कुलमान हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा ल्याउने सरकारी कामको परिणाम भन्दै आक्रोशसमेत पोखेका छन्।
अनियमित विद्युत कटौतीले हैरान पारेको भन्दै पूर्वका उद्योगीहरूले बिहीबार प्राधिकरणको नयाँ नेतृत्वप्रति असन्तोष प्रकट गरेका छन्।
उद्योगहरूमा भइरहेको अनियमित विद्युत कटौती जारी रहेको भन्दै उद्योगीहरूले तत्कालै सेवा सुधारका लागि नेपाल विद्युत प्राधिकरण गुहारेका छन्।
उद्योग संगठन मोरङले सुनसरी–मोरङ औद्योगिक करिडोरमा अहिले पनि दैनिक १० घन्टासम्म विद्युत आपूर्ति बारम्बार अवरूद्ध भइरहेको भन्दै यसले औद्योगिक वातावरण समस्याग्रस्त तुल्याएको जनाएको हो।
उद्योग संगठन मोरङले प्रेस नोटमार्फत् सुख्खायाममा बढ्दै गएको विद्युत कटौतीका कारण दैनिक करोडौंको नोक्सानी भएको बताएको छ।
सुनसरी–मोरङ, विराटनगर–रानी र विराटनगर–कटहरी औद्योगिक करिडोरमा दैनिक ८ देखि १० घण्टासम्म विद्युत आपूर्ति अवरूद्ध भएको संगठनको दाबी छ।
यो क्षेत्रमा साना–ठूला गरी ५ सयभन्दा धेरै उद्योगधन्दाहरू छन्। लामो समयसम्म अनियमित ढंगले विद्युत कटौती हुँदाको असर उत्पादनमा परेको संगठनको भनाइ छ।
उद्योग संगठनले विद्युत आपूर्तिमा भएको समसया र त्यसले पारेको असर बारे यसअघि विस्तृत अध्ययन नै गरेको थियो।
'हामीलाई कुनै पूर्व सूचनाबिनै विद्युत काटिन्छ, यसले उत्पादन प्रक्रिया अवरूद्ध हुन्छ र फेरि सुचारू गर्न घण्टौं लाग्छ,' संगठनका अध्यक्ष राकेश सुरानाले भने, 'यस्तो समस्याले दैनिक करोडौंको नोक्सानी भइरहेको छ।'
सुरानाका अनुसार प्राधिकरणले हरेक वर्ष सुख्खायाममा विद्युत आपूर्तिमा कमी आउने जानकारी दिए पनि दीर्घकालीन समाधानका लागि कुनै ठोस योजना ल्याएको छैन।
'हामीले तथ्य र तथ्यांकसहित बारम्बार प्राधिकरणको ध्यानाकर्षण गराएका छौं, तर उनीहरू हाम्रो समस्या बुझ्न चाहँदैनन्,' अध्यक्ष सुरानाले थपे, 'प्राधिकरणको नयाँ नेतृत्वले विद्युतको नियमित आपूर्ति र गुणस्तर सुधारमा ध्यान दिने आशा गरिएको थियो। तर प्राधिकरण नाफा र नोक्सानीमा मात्र केन्द्रित हुँदा उद्योग व्यवसाय थप प्रताडित भएका छन्।'
एकातिर सुख्खायाममा बढी महसुल लिने, अर्कोतिर विद्युत निरन्तर आपूर्ति नगर्ने, यो दोहोरो मारमा आफूहरू परिरहेको अध्यक्ष सुरानाले बताएका छन्।
विद्युत आपूर्तिमा भइरहेको समस्याले उद्योगहरु सञ्चालनमै कठिनाइ भएको संगठनको भनाइ छ।
नेपाल विद्युत प्राधिकरणले यसअघि भारतबाट बिजुली आयात घटेको भन्दै उद्योगहरूमा लोडसेडिङ हुने जानकारी दिएको थियो। तर, कुलमान घिसिङकै पालामा भारतबाट बिजुली फेरि आयात हुन थालेपछि विद्युत वितरणमा सुधार भएको प्राधिकरणले दाबी गर्दै आएको थियो। प्राधिकरणको यस्तो दाबी आइरहेका बेला विराटनगरका उद्योगीहरूले भने अघोषित लोडसेडिङको मार खेप्नुपरेको बताएका हुन्।
तस्बिरहरू:
-1747318318.jpg)
-1747318317.jpg)
-1747318317.jpg)
-1747318315.jpg)
-1747318317.jpg)
-1747318316.jpg)
-1747318316.jpg)
-1747318315.jpg)
-1747318315.jpg)
-1747318314.jpg)
-1747318314.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी