काठमाडौंलाई मधेस र देशको पूर्वी भेगसमेत जोड्ने बिपी राजमार्ग धमाधम मर्मत भइरहेको छ।
मनसुन सकिने बेला गत असोज १० देखि १३ गतेसम्म परेको वर्षातपछिको बाढी–पहिरोले बिपी राजमार्गको २४ किलोमिटर खण्डमा क्षति पुर्याएको थियो। भकुन्डेबेसीदेखि नेपालथोकसम्म झन्डै १३ किलोमिटर सडक रोशी खोलाले कटान गरेको थियो।
त्यो सडक स्थायी रूपमा मर्मत गर्नका लागि १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अर्थ मन्त्रालयले साढे आठ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेपछि चार खण्ड टुक्र्याएर धमाधम ठेक्का आह्वान भइरहेको छ। अहिले सिन्धुलीतर्फको एक खण्ड र काभ्रेतर्फको दुई खण्डको ठेक्का आह्वान भइसकेको छ।
तर ठेक्का लागेर निर्माण कम्पनी परिचालन हुन बर्खाअघि सम्भव नहुने भएकाले बिपी राजमार्गको अस्थायी मर्मत थालिएको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ।
धेरै क्षति पुगेको काभ्रेपलाञ्चोकतर्फको १४ किलोमिटर सडक खण्डमा खोला खार्ने, कटान गरेको भागमा माटो हाल्दै उचालेर सडक जोड्ने काम भइरहेको साइट इन्जिनियर दुर्गा प्रसादले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार सडक डिभिजन भक्तपुरको आफ्नै स्रोतबाट उक्त सडक मर्मत भइरहेको हो। सडक मर्मतका लागि विभागकै उपकरणहरू प्रयोग भइरहेका छन्।
अहिले १२ वटा स्काभेटर, १२ वटा टिपर, एउटा–एउटा जेसिबी, लोडर, ग्रेडर, पानी ट्यांकर प्रयोग गरेर सडकको मर्मत भइरहेको साइट इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए।
‘अहिले हामी खोलाको धार परिवर्तन गर्ने, खोलालाई चौडा र गहिरो पार्ने काम गरिरहेका छौं,’ उनले भने, ‘यसका साथै डाइभर्सनको उचाइ बढाउने काम पनि भइरहेको छ।’
डाइभर्सनको उचाइ पाँच–छ मिटरसम्म बनाएकाले बर्खामा नदीले कटान गर्न नसक्ने सडक डिभिजनको ठम्याइ छ।
गत असोजको बाढीपछि १३ दिनमै मर्मत गरेर यातायात सञ्चालन गरिएको थियो। नदीले सडक नै कटान गरेकाले ट्र्याक डाइभर्सन गर्दै खोलाको किनारैकिनार बाटो खोलिएको थियो।
दसैंअघि नै सञ्चालनमा ल्याइएको उक्त खण्डमा सुख्खा पहिरोको जोखिम भने कायमै रहेकाले राति गाडी गुडाउन बन्द गरिएको थियो। अहिले राति पनि यातायात सञ्चालन हुनेगर्छ।
तथापि यात्रा गर्दा सास्ती भने उस्तै छ।
अहिले यात्रा गर्दाको सास्ती घटाउने र सुख्खा पहिरोको जोखिमलाई पनि कम गर्ने गरी मर्मतलाई व्यवस्थित तुल्याइएको साइट इन्जिनियर दुर्गा प्रसादले बताए।
उक्त खण्डको वैशाख १५ गतेभित्र मर्मत गरिसक्न विभागले निर्देशन दिएको थियो।
‘केही ठाउँमा अपुरै रहलान्। तर धेरैजसो ठाउँको मर्मत गरिसक्छौं,’ उनले भने।
अहिलेसम्म चौकीडाँडा, कटुञ्जे, च्युरी बाँझझ्याङ, बोक्सीकुना, पिप्ले लगायत खण्डमा मर्मतको काम सकिइसकेको छ। १४ ठाउँमध्ये पाँच खण्डमा मर्मत पूरा भइसकेको उनले जानकारी दिए।
बिपी राजमार्गमा भइरहेको मर्मतले बर्खामा गाडी गुडाउन कत्तिको सहज तुल्याउँछ भनेर हामीले सडक सुरक्षासम्बन्धी जानकार आशिष गजुरेललाई सोध्यौं।
उनले केही दिनअघि उक्त सडक अवलोकनसमेत गरेका थिए।
उनले पनि बिपी राजमार्गको डाइभर्सन खोलाको सतहबाट ६ मिटरसम्म उचाल्ने काम भइरहेको बताए। कतिपय ठाउँमा माटो भरेर ट्र्याक साविककै स्थानमा फर्काइएको छ।
खोलाको बहावलाई पनि साविककै ठाउँमा फर्काएर गहिर्याइएको छ।
तथापि उनी बर्खामा उक्त खण्डमा गाडी चलाउन असम्भव नै देख्छन्।
‘डाइभर्सन उचालिए पनि पर्खाल लगाएको छैन। तसर्थ कटानको जोखिम यथावत् नै छ,’ उनले भने, ‘खोलामा बाढी नआउँदा अहिले मर्मत गरिएको खण्डमा सवारी चलाउन बाधा नहोला। खोलाको सतह बढ्नेबित्तिकै जोखिम बढ्छ।’
यसका अतिरिक्त पिप्ले लगायत क्षेत्रमा सुख्खा पहिरोको जोखिम हिउँद याममा पनि कायमै छ। बर्खामा त्यो पहिरो अझ बढ्ने हुनाले जोखिम घट्ने देखिँदैन।
‘मनसुन सकिनेबित्तिकै यही गतिमा मर्मत थालेको भए उक्त खण्ड अलिकति व्यवस्थित बनाउन सकिन्थ्यो। ढिला सुरू गरेकाले बर्खामा पनि सञ्चालनमा ल्याउन चुनौतीपूर्ण हुने देखिन्छ,’ उनले भने।
सबै तस्बिर: दुर्गा प्रसाद
-1743919231.jpeg)
-1743919230.jpeg)
-1743919230.jpeg)
-1743919229.jpeg)
-1743919229.jpeg)
-1743919228.jpeg)
-1743919228.jpeg)

यो पनि:
बिपी हाइवे पुनर्निर्माण गर्न अर्थले गर्यो स्रोत सुनिश्चित, बर्खाअघि नै लाग्छ ठेक्का?
हिउँदमा खोलाबाटै काम चल्यो, बर्खामा के हुन्छ बिपी हाइवे?
हिउँद घर्किन लागिसक्यो, लथालिंग छन् काठमाडौं जोड्ने सबै राजमार्ग
१३ दिनमै यसरी खुलाउन सम्भव भयो तहसनहस बिपी राजमार्ग