काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मंगलबार राति नै थापाथली चोकनजिकै फुटेको पाइप मर्मत गरेको छ।
मंगलबार बिहान थापाथली चोकबाट पूर्वतिर नर्भिक अस्पताल जाने सहायक सडकमा मेलम्ची खानेपानी आयोजनाको थोक वितरणतर्फको पाइप फुटेको थियो।
उक्त स्थानमा राति नै पाइम मर्मत गरी वितरण नियमित तुल्याइएको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले जानकारी दिए।
‘हामीले राति १२ बजे नै पाइप मर्मत गरेर पानी पठाउन सुरू गरिसकेका छौं। सडक मर्मतको काम महानगरपालिकाले गर्छ,’ उनले भने।
केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले थापाथली क्षेत्रमा विद्युत प्राधिकरणको लापरबाहीका कारण पाइप फुटेको निष्कर्ष निकालेको छ।
निर्देशनालयले मंगलबार साँझ विज्ञप्तिमार्फत् प्राधिकरणले त्यस क्षेत्रमा तार भूमिगत गर्ने क्रममा विगतको सहमति उल्लंघन गरेको निष्कर्ष निकालेको हो।
‘विद्युत लाइन भूमिगत गर्न पाइप बिछ्याउँदा मेलम्चीको पाइपको तल, माथि, दायाँ र बायाँ कम्तीमा एक मिटरको दुरी राख्नुपर्ने विगतको समझदारी विपरीत प्राधिकरणले सडक खनेर मेलम्चीको पाइपमाथि नै विद्युतको पाइप राखेको पाइएको र त्यसक्रममा मेलम्चीको पाइपमा चोट लागेको स्थलगत अध्ययनबाट देखिएको छ,’ आयोजना कार्यान्वयन निर्देशनालयले भनेको छ।
केयुकेएलका प्रमुख कार्यकारी अधिकृत पौडेलले पनि प्राधिकरणकै त्रुटिका कारण थापाथली क्षेत्रमा पाइप फुट्न पुगेको बताए।
उनले त्यस क्षेत्रमा तार भूमिगत गर्ने क्रममा डोजरले खन्दा मेलम्चीको मुख्य वितरण प्रणालीकै पाँच सय एमएमको पाइपमा क्षति पुगेको बताए।
केयुकेएलले एक दिनअघि पाइप लाइन मर्मतका लागि माइतीघरस्थित भल्भ बन्द गरेको पनि बताएको छ। त्यस्तै ललितपुरको ज्वागलमा रहेको एयर भल्भ पनि बन्द गर्दा एकान्तकुनाबाट माइतीघरतर्फ पानीको चाप बढ्न गइ एक्कासि पाइप फुटेको केयुकेएलले बताएको छ।
मंगलबार बिहान ५ः२० बजे त्यहाँ पाइप फुटेको थियो। पाइप फुट्दा करिब पाँच लाख लिटर पानी थापाथली क्षेत्रमा बगेको अनुमान गरिएको छ। जसका कारण केही निजी आवास, पसलहरूमा समेत पानी पसेको थियो।
काठमाडौं महानगरपालिकाले जमेको पानीको निकासको व्यवस्थापन गरेको र सडकमा जम्मा भएको गिटी, बालुवा, माटो पनि महानगरपालिकाले नै सफा गरेको केयुकेएलले बताएको छ।
त्यस क्षेत्रमा अहिले पानी वितरण बन्द गरिएको छ। आज रातभरिमा पाइप मर्मत गरेर भोलि बिहानसम्म पानी वितरण गर्ने तयारी केयुकेएलको रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए।
काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको पाइपको चुहावट बढेको छ। केयुकेएलकै अनुसार अझै काठमाडौं उपत्यकामा दुई हजारभन्दा बढी स्थानमा चुहावट छ।
गत माघ ३० गते बबरमहल क्षेत्रमा पनि मेलम्चीको पाइप फुटेको थियो। त्यहाँ पनि विद्युत प्राधिकरणले तार भूमिगत गर्दा ड्रिलिङ गर्ने क्रममा मेलम्चीको थोक वितरण सञ्जालको पाइपमै क्षति पुर्याएको थियो।
त्यहाँ पाइप मर्मत गरेर केयुकेएलले पानी वितरण नियमित तुल्याए पनि सडक भने मर्मत भइसकेको छैन। सडक डिभिजन कार्यालय आफैले मर्मतको काम गरिरहेको छ।