भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी राजमार्गसहित २६ आयोजना पुनर्निर्माणका लागि एक हप्ताभित्र ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले आइतबार बैठक बसेर एक हप्ताभित्र ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी दिए।
‘अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरिसकेकाले ठेक्का प्रक्रिया अघि बढाउन भनिसकेका छौं। सडक विभागले एक हप्ताभित्रै टेन्डर प्रक्रिया अघि बढाउने गरी तयारी गरिसकेको छ,’ उनले भने।
सडक विभागका प्रवक्ता अर्जुन अर्यालले एक हप्ताभित्र टेन्डर प्रक्रिया अघि बढाउने जानकारी दिए।
उनकाअनुसार बिपी राजमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ। केही राजमार्गको डिपिआर बनाउन बाँकी छ। ती परियोजनाको डिपिआर बनेपछि बाँकी कागजात पनि तयार हुने टेन्डर प्रक्रिया अघि बढ्ने उनले बताए।
भौतिक मन्त्रालयले २६ आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाएको थियो।
अर्थ मन्त्रालयले गत मंगलबार स्रोत सुनिश्चितताको निर्णय गरेको हो। अर्थ मन्त्रालयले बिपी राजमार्ग, कान्ति लोकपथ, मेची राजमार्गसहित १० वटा राजमार्ग पुनर्निर्माण गर्नका लागि स्रोत सुनिश्चित गरेको छ। १३ वटा पुल र ३ वटा वैकल्पिक सडक रहेको सडक विभागका प्रवक्ता अर्जुन अर्यालले जानकारी दिए।
उनले यस वर्षका लागि १ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएको पनि जानकारी दिए।
बिपी राजमार्ग बनाउन साढे आठ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको छ। मेची राजमार्गका लागि ६० करोड, कान्ति लोकपथका लागि २५ करोड, थानकोट–चित्लाङ सडकका लागि २५ करोड रुपैयाँको स्रोत सुनिश्चित भएको छ। १३ वटा पुलका लागि १ अर्ब ९० करोड रुपैयाँको स्रोत सुनिश्चित भएको पनि विभागले जानकारी दिएको छ।
बर्खाअघि बिपी अस्थायी मर्मत
गत असोज १० देखि १३ गतेसम्मको बाढीले बिपी राजमार्गको काभ्रेपलाञ्चोकको भकुन्डेबेसीदेखि नेपालथोकसम्म २८ किलोमिटर सडकमा क्षति पुर्याएको थियो। ८.७ किलोमिटर सडक त कटान नै गरेको थियो।
सडक विभागले बाढी–पहिराले क्षति पुर्याएको बिपी राजमार्गको उक्त खण्ड अध्ययन गरी पुननिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ।
जसअनुसार पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्ने देखिएको छ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका अनुसार अब बन्ने २८ किलोमिटर सडक डबल लेनको हुनेछ।
नालासहित १० मिटर चौडा हुनेछ। सात मिटर चौडाइ कालोपत्र गरिने कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिए।
‘यो सडक जियोमेटिक स्ट्यान्डर्डको हुनेछ। यो भनेको क्लास–टु स्ट्यान्डर्ड पनि हो। अहिले भइरहेको भन्दा फराकिलो र व्यवस्थित सडक बनाउने योजना छ,’ न्यौपानेले भने, ‘पहिलो चरणमा बन्द सडक ट्र्याक खोलेर रेस्पोन्स गर्यौं। दोस्रो चरण रिकभरी अन्तर्गत पर्यो। त्यसमा हामीले ट्र्याकलाई स्तरोन्नति गर्दै पहिले जति सवारी गुड्थे, त्यति नै चल्ने बाटोमा रूपान्तरण गर्यौं। अब हामी पुनर्निर्माणको चरणमा प्रवेश गरेका छौं। यस चरणमा हामीले पहिलेभन्दा व्यवस्थित, जोखिमरहित सडक निर्माण गर्नेछौं।’
डिपिआर अनुसार उक्त सडकमा तीन सय एमएम (१ लाख ५ हजार ५०८.८८ घनमिटर) को सब–बेस, २५० एमएम (६५ हजार ३७२.६४ घनमिटर) को बेस, ७५ एमएमको वाटर बाउन्ड म्याडम र ४० एमएमको आसफाल्ट कालोपत्र गरिनेछ।
तीन लाख ९६ हजार ३०२.८३ घनमिटर माटो कटिङ गर्नुपर्ने र ७ लाख ६४ हजार १७५.८८ घनमिटर पुर्नुपर्ने पनि विस्तृत परियोजना प्रतिवेदनले बताएको छ।
असोजको बाढी–पहिरोपछि भत्किएको खण्ड अस्थायी डाइभर्सन गरेर १३ दिनमै सञ्चालनमा ल्याइएको थियो। बाढीले सडक कटान गरेको ठाउँमा खोलाबाटै ट्र्याक खोलिएकाले हिउँद याममा पनि सवारी चलाउन मुस्किल छ। सवारी साधन घन्टौं जाममा बस्नुपर्छ। कतिपय खण्डमा अझै सुख्खा पहिरोको जोखिम छ।
पुनर्निर्माणका लागि फागुन महिनाभित्रैमा ठेक्का आह्वान गरे पनि प्रक्रियामा हिसाबले ठेकेदार नियुक्त गर्न जेठ पर्खनुपर्छ। बर्खाको मुखमा पुनर्निर्माण सुरू गर्दा सवारी आवागमन झनै चुनौतीपूर्ण हुनेछ।
त्यसैले अहिले सडक डिभिजन भक्तपुरले बिपी राजमार्गको भत्किएको खण्ड मर्मत गरिरहेको छ।
साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार बिपी राजमार्गको बोक्सीकुना र चिउरी बाँसझ्याङ खण्डमा डाइभर्सनको काम भइरहेको छ।
‘अहिले हामी अस्थायी डाइभर्सन गरिएको भाग नदी सतहबाट उचाल्ने र त्यसलाई व्यवस्थित गर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘भेलबाढीका कारण नदीको सतह बढेको छ। त्यसलाई गहिर्याउने र नदीको बहाव परिवर्तनको काम पनि सँगसँगै गरिरहेका छौं,’ साइट इन्जिनियर दुर्गाले सेतोपाटीसँग भने।
उनकाअनुसार बिपी राजमार्ग मर्मतको नाम अघिल्लो दुई साता अघिबाटै सुरू गरिएको हो। आइतबारसम्म १३ दिन भइसकेको छ। यो अवधिमा बोक्सीखोलामा करिब तीन सय मिटर बढी खोला डाइभर्सन गरिएको छ। त्यस्तै चिउरी बाँसझ्याङमा पनि तीन सय मिटर खोला डाइभर्सन गरिसकिएको छ।
उनकाअनुसार राजमार्ग मर्मतका लागि अहिले ८ वटा उपकरण प्रयोग भइरहेका छन्। जसमा एउटा डोजर र ७ वटा स्काभेटर प्रयोग भइरहेका छन्।
‘यी सबै उपकरण विभागकै हुन्। मर्मतको काम पनि विभागले नै गरिरहेको छ। यसका लागि भइपरी आउने शीर्षक अन्तर्गतबाट स्रोतको व्यवस्थापन गरेका छौं,’ उनले भने।
बिपी राजमार्ग भएर अहिले दैनिक तीन हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन्।
सुख्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) गाडी चलाउन रोक लगाएको छ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–०५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किलोमिटर सडक) निर्माण थालिएको थियो। खण्ड–खण्ड छुट्टयाएर २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
असोजको बाढी–पहिराले क्षति पुर्याएको बिपी राजमार्गको खण्ड मर्मतका लागि सरकारले जापान सरकारसँग अनुरोध गरेको थियो।
ओमनको मस्कटमा रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले सोमबार जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग शिष्टाचार भेट गर्दै बिपी राजमार्ग पुनर्निर्माणका लागि आग्रह गरेकी थिइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग गत अक्टोबरमा बिपी राजमार्ग पुनर्निर्माण गरिदिन आग्रह गरेका थिए।