बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निश्चित भएको छ। बंगलादेश सरकारको मन्त्रिपरिषद बैठकले नेपालबाट ४० मेगावाट बिजुली लैजाने विषय स्वीकृत गरिसकेको छ।
मन्त्रिपरिषद मातहतको खरिद समितिले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो।
आउँदो जुन २३ र २४ मा नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक काठमाडौंमा बस्दैछ। यसअघि सोही बैठकका बेला सम्झौता गर्ने मन्त्रालयको तयारी थियो।
तर औपचारिक पत्र आइपुग्न समय लाग्ने हुँदा सम्झौताको समय सारिएको मन्त्रालयले जनाएको छ।
'औपचारिक पत्र आउन अझै हप्ता-दस दिन जति लाग्ला, त्यसपछि सम्झौता गर्ने योजना बनेको छ। जुलाई पहिलो सातातिर सम्झौता गर्ने कुरा छ,' ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवीनराज सिंहले सेतोपाटीसँग भने।
अब बंगलादेशले औपचारिक पत्र पठाएपछि बंगलादेश र नेपालबीच सम्झौता हुने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीहरूले उल्लेख गरेका छन्।
बंगलादेशले बिजुली प्रतियुनिट ८.१७ टाका (९.२७ रूपैयाँ) मा किन्ने गरी निर्णय भएको छ। भारतबाट भन्दा नेपालबाट बंगलादेशले सस्तोमा बिजुली किन्न पाउने बंगलादेशी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
बंगलादेशले ५ वर्षका लागि नेपालबाट ४० मेगावाट बिजुली लैजाने सम्झौता हुन लागेको हो।
दुई देशबीच ऐतिहासिक सम्झौता हुने भएकाले दुबै देशका ऊर्जा मन्त्रीले हस्ताक्षर गर्ने पनि प्रवक्ता सिंहले जानकारी दिए।
सम्झौतामा नेपालका तर्फबाट ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत र बंगलादेशका ऊर्जामन्त्री नस्रुल हमिदले हस्ताक्षर गर्नेछन्।
नेपालले बंगलादेशमा बिजुली पठाउन भारतको प्रसारण लाइन प्रयोग गर्नेछ। यसवापत् भारतलाई बंगलादेशले शुल्क तिर्नेछ।
बंगलादेशसँगको सम्झौतापछि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता पनि हुनेछ। सम्झौताका लागि भारत पनि सकारात्मक रहेको अधिकारीहरूले जनाएका छन्।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार बंगलादेशले नेपालबाट बिजुली लैजाँदा पाँच वर्षमा ६ अर्ब ५० करोड टाका खर्च हुने अनुमान छ।
बंगलादेशमा पछिल्लो समय ऊर्जा संकट चुलिँदै गएको छ। पहिलो चरणमा नेपालबाट ४० मेगावाट बिजुली लैजाने सम्झौता गर्न लागे पनि भविष्यमा ठूलो परिमाणमा लैजाने सम्भावना देखिएको अधिकारीहरू बताउँछन्।
नेपालले बर्खा याममा भारतमा पनि बिजुली बेचिरहेको छ। त्यस्तै भारतबाट आयात समेत गर्दै आएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख) सम्मको आर्थिक प्रतिवेदन अनुसार यो अवधिमा नेपालले भारतबाट १३ अर्ब दुई करोड रूपैयाँको बिजुली आयात गरेको छ।
त्यस्तै १२ अर्ब ५४ करोड रूपैयाँको बिजुली भारत पठाएको छ। यो अवधिमा बिजुली व्यापारमा ४७ करोडको घाटा देखिएको छ।