थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड स्तरोन्नतिका लागि शुक्रबारदेखि एक महिनाका लागि बन्द हुने भएको छ।
उक्त सडकको चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्ने लगायतको मर्मत शुक्रबारदेखि सुरू हुने भएकाले असार २५ गतेसम्म दिउँसोको समयमा बाटो बन्द गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सडक डिभिजन कार्यालय, काठमाडौंका इञ्जिनियर रामकुमार श्रेष्ठले सडक सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी एक महिनालाई सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिए।
यो सडकखण्ड मर्मत गर्न तीन करोड ९३ लाख रूपैयाँमा ठेक्का लागेको छ।
सडक मर्मतको समय बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्ण रूपमा सडक बन्द गरिने इञ्जिनियर श्रेष्ठले बताए।
थानकोट-चित्लाङ सडकखण्ड सुधारका लागि गत वैशाखमा दुई भागमा ठेक्का लागेको थियो।
ग्रेड उच्च रहेको र सडकको चौडाइ कम भएको खण्डमा कटिङ गर्ने, उकालो कम गर्ने लगायत काम गरिने इञ्जिनियर श्रेष्ठले बताए।
थानकोट-चन्द्रागिरि-चित्लाङ सडकको विकल्पमा फाखेल-सिस्नेरी- कान्तिराजपथ-त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ।