स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ५०० मेगावाटसम्मका आयोजना स्वदेशी निजी क्षेत्रले नै बनाउन सक्ने कुरा पुष्टि भएकाले विद्युत विधेयक संशोधन गरेर मात्रै पास हुनुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित माथिल्लो तमोर जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा बोल्दै अध्यक्ष कार्कीले उक्त कुरा बताएका हुन्।
'२८५ मेगावाट क्षमताको आयोजना स्वदेशी लगानीमा, स्वदेशी निजी क्षेत्रले बनाउन सक्छ भन्ने कुरा त आजको यो समारोहले नै पुष्टि गरिसकेको छ,' कार्कीले भने, 'विद्युत् विधेयकमा स्वदेशी निजी क्षेत्रलाई एक सय मेगावाटसम्मका आयोजनामा सीमित गर्न खोजिएको छ। एक सयदेखि पाँच सय मेगावाटसम्मका आयोजना निजी क्षेत्रले नै बनाउन सक्ने भएकोले विद्युत विधेयक संशोधन गरेर मात्रै संसदबाट पास हुनुपर्छ।'
उनले २८५ मेगावाटको आयोजनामा लगानी गर्ने सबै स्वदेशी बैंक तथा वित्तीय संस्थालाई धन्यवाद दिए।
जलविद्युत आयोजनाले बिजुली उत्पादन मात्र नभइ, राज्यले गर्नुपर्ने पूर्वाधार विकासका धेरै काम गरिरहेको उनले बताए।
'आयोजना बन्दा हजारौं किलोमिटर बाटो बन्छ। विद्यालय, अस्पताल, खानेपानी लगायत पूर्वाधारमा समेत लगानी गरिएको हुन्छ,' उनले भने, 'तर हामीलाई दुःख दिने काम बन्द भएको छैन।'
सरकारले २८ हजार मेगावाट उत्पादन गर्ने र भारत र बंगलादेशमा १५ हजार मेगावाट निर्यात गर्ने, १३ हजार मेगावाट आन्तरिक खपत गर्ने कुरा धेरै पहिलेदेखि गर्दै आए पनि बजेटमा निजी क्षेत्रलाई नसमेटिएको भन्दै अध्यक्ष कार्कीले दुःख पोखे।
१० हजार मेगावाट निर्यातको सम्झौता भइसकेको उल्लेख गर्दै उनले २८ हजार मेगावाट उत्पादनका लागि आवश्यक ४६ खर्ब रुपैयाँ लगानीका लागि पनि स्वदेशी बैंक तथा वित्तीय संस्था तयार हुनुपर्ने बताए। त्यस्तै अपुग रकम मात्रै विदेशी लगानीमार्फत् ल्याउनुपर्नेमा उनको जोड थियो।
स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन गइरहेको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना २८५ मेगावाटको माथिल्लो तमोरमा एभरेस्ट बैंकको नेतृत्वमा कृषि विकास बैंक, एचआइडिसिएल, राष्ट्रिय वाणिज्य, प्रभु, लक्ष्मी सनराइज, नेपाल एसबिआई र गरिमा विकास बैंकले ऋण लगानी गरेका छन्।
आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित ५५ अर्ब रूपैयाँ अनुमान गरिएको छ। यसमा ३० प्रतिशत स्वपुँजी र बाँकी ऋण लगानी हुनेछ।
अप्पर तमोर हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले २०४९ सालको विद्युत ऐन ल्याउने शैलजा आचार्यलाई सम्झिँदै २१ वर्षअघि एक मेगावाटको आयोजना निर्माण गरेर दुई दशकमै २८५ मेगावाटको आयोजना बनाउन सक्ने अवस्थामा पुगेका बताए।
ऋण लगानी सम्झौतामा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अप्पर तमोरका अध्यक्ष पुष्पज्योति ढुंगानाले हस्ताक्षर गरेका छन्।
कार्यक्रम सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र रघुवीर महासेठ, प्रतिनिधि सभा सदस्य योगेश भट्टराई लगायतको सहभागिता थियो।