बर्खामा भारतमा थप ४०० मेगवाट बिजुली लैजाने प्रस्ताव आएको छ।
भारतको हरियाणा र विहारमा थप ४०० मेगावाट बिजुली लैजाने प्रस्ताव आएको हो।
भारतको निजी क्षेत्र टाटाबाट प्रस्ताव आएको छ। तर यही बर्खामा टाटाका लागि २०० मेगावाट भने जाने टुंगो छैन। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब बर्खामा हरियाणा र विहारमा चार सय मेगावाट बिजुली पठाउने बताए।
'पहिलेको ६०० मेगावाट र अब चार सय गरेर आउने बर्खामा हामी एक हजार मेगावाट बिजुली चाहिँ पठाउँदैछौं,' कार्यकारी निर्देशक घिसिङले भने।
भारतको एनटिपिसी विद्युत व्यापार निगम लिमिटेड (एनभिभिएन) र पिटिसी इण्डिया लिमिटेडले बर्खाको बिजुली लैजान प्रस्ताव गरेका हुन्।
एनभिभिएनले २०० मेगावाट बिजुली हरियाणा राज्यमा लैजान प्रस्ताव गरेको छ। त्यस्तै पिटिसीले विहार लैजान खोजेको हो।
भारतमा बिजुली पठाउनका लागि तत्कालीन समयमा पूर्वाधार पनि रहेको घिसिङले बताए।
'प्रसारण त ढल्केबरमै ८०० मेगावाटको हो। टनकपुरमा ७० मेगावाटको हो। अनि विहारमा पनि पठाउँदैछौं हामी २०० मेगावाट। विहारका लागि पनि प्रसारण लाइन समस्या छैन। रक्सौल–परवानीपुर छ। कुसाहा–कटैया छ,' उनले भने।
बरू आन्तरिक प्रसारण लाइनमा समस्या भएको उनको भनाइ छ। भएका समस्याहरू समाधान गरेर जाने प्रयास गरिरहेको पनि उनले बताए।