काठमाडौं- तराईं/ मधेस द्रुतमार्ग सडक आयोजना (फास्ट ट्र्याक) अन्तर्गत धेन्द्रे सुरूङमार्ग छिचोलिएको छ।
शुक्रबार आयोजित एक कार्यक्रममा प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेन्द्रे सुरूङ छिचोलिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
जोडी सुरूङ (ट्विन ट्युब टनेल)मध्ये १६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरूङमार्ग छिचोलिएको हो।
यस कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा लगायतको उपस्थिति थियो।
यसअघि गत जेठ ४ गते लेनडाँडा सुरूङमार्गको जोडी सुरूङ मध्ये काठमाडौंबाट निजगढ जाने १६३३ मिटर लम्बाइको सुरूङमार्ग छिचोलिएको थियो।
७१ किलोमिटर लम्बाइ रहेको काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणका लागि २०७४ सालको वैशाखमा नेपाली सेनाले जिम्मा पाएको थियो। तर विस्तृत आयोजना प्रतिवेदन निर्माण, कन्सल्ट्यान्ट छनौट तथा ठेक्का प्रक्रियामा जान सेनालाई चार वर्ष लाग्यो। जसका कारण २०७८ जेठ ३१ गतेबाट मात्र फास्ट ट्र्याकको निर्माण कार्य प्रारम्भ भएको थियो।
यसअघि नेपाली सेनाका फास्ट ट्र्याक आयोजनामा कार्यरत प्राविधिक महासेनानी इन्दीवर गुरूङले जेठसम्ममा धेद्रे र लेनडाँडाको सुरूङ खन्ने काम सकिने बताएका थिए। यो सुरङमार्ग सकिएसँगै दसैंसम्ममा महादेवडाँडा सुरूङ खन्ने काम सकिने उनले बताएका थिए।
सुरूङ खन्ने काममा सेनाले राम्रै प्रगति हासिल गरेको छ। ३ वटै सुरूङमा काठमाडौंतर्फ जाने एउटा र आउने एउटा गरी दुई वटा सुरूङ छन्। जुन डबल लेनमा निर्माण भइरहेका छन्।
यो पनि: काठमाडौं–तराई फास्ट ट्र्याकको भिडिओ टूर