नेपाल विद्युत प्राधिकरणलाई सहज रूपमा बिजुली पुर्याउन धौधौ परेको छ। पछिल्लो समय आन्तरिक उत्पादन बढाउन नसक्दा र भारतले पनि दिउँसो मात्रै बिजुली दिँदा रातको समयमा बिजुली पुर्याउन समस्या भएको हो।
प्राधिकरणका अनुसार अहिले पिक आवरको माग १८०० मेगावाटदेखि २२०० मेगावाट सम्म छ। उत्पादन पनि १८०० देखि २२०० मेगावाट नै छ। अहिले गर्मीमा बिजुली माग धेरै बढ्ने र पानी नपरेको अवस्थामा उत्पादन कम हुने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए।
'बिदाका दिन कार्यालयहरू नखुल्ने भएकाले माग कम हुन्छ, अरू दिन बढी हुन्छ,' उनले भने, 'त्यस्तै पानी परेका दिन २२०० मेगावाटसम्म बिजुली उत्पादन हुन्छ। सुख्खा दिनमा १८०० मेगावाट। अहिले त सबै ग्राहककहाँ बिजुली पुगेकै छ, तर अवस्था नाजुक छ। नेक टु नेक अवस्था हो।'
कुनै आयोजनामा समस्या भइहाल्यो भने बिजुली पुर्याउन नसकिने चिन्ता बढेको उनले बताए।
प्राधिकरणको एक स्रोतले पनि कहिलेकाहीँ माग धान्न सकस परिरहेको बताएको छ। पानीको बहाब कम हुँदा पुर्याउन नसकिने छिटफुट घटना भइरहेका स्रोतले बतायो।
प्राधिकरणले अहिलेसम्म लोडसेडिङ घोषणा त गरेको छैन। तर माग धान्न नसक्दा बेलाबखत बिजुली आपूर्ति हुने गरेको स्रोत बताउँछ।
अहिलेको सिजनमा नेपालले भारतमा बिजुली निर्यात गरेको छैन। भारतबाट आयात भने गरिरहेको छ। पछिल्लो समय दिनको समयमा ८५० मेगावाट बिजुली भारतबाट आयात गरिरहेको घोषले बताए।
गत चैतमा भारतबाट बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बिजुली आयात गर्नेगरी सम्झौता नवीकरण भएको थियो। नेपालले भारतबाट बिजुली खरिदका लागि २०७८ वैशाखमा अनुमति पाएको थियो। पाँच वर्षका लागि भएको उक्त अनुमति हरेक वर्ष नवीकरण हुँदै आएको थियो। त्यसभन्दा अघि बेलुकाको पिक आवरमा पनि नेपालले भारतबाट आयात गर्दै आएको थियो।
अहिले बेलुका पिक आवरमा आन्तरिक व्यवस्थापनबाट मात्रै बिजुली दिइएको छ।
कतिपय ठाउँमा प्रसारण लाइन अभावका कारण भएको बिजुली पनि प्रसारण गर्न नसकिएको प्राधिकरण प्रवक्ता घोषको भनाइ छ। सम्बन्धित निकायले प्रसारण लाइन निर्माणबारे गम्भीर हुन नसक्दा समस्या निम्तिएको उनले बताए।
अहिले पिकमा पूर्वी क्षेत्र जाने लाइन एउटै मात्र छ, ढल्केवरबाट पश्चिमतर्फ धेरै पूरानो कम क्षमताको प्रसारण लाइन।
'हामीले पूर्वमा त्यसले धानेजति बिजुली दिने हो। पूर्वमा त बिजुली भएर पनि माग जति दिन सक्दैनौं। त्यसका लागि ढल्केवर-इनरूवा प्रसारण लाइन बन्न एकदमै अपरिहार्य छ। त्यो केही दिनमै सकिने कार्यक्रम हो। अझै महिनौसम्म पनि सकिएला जस्तो छैन। यी सबै कुराले गर्दा कतै बत्ती काटियो भने पनि स्वाभाविक मान्नु पर्यो,' उनले भने।
पूर्वतर्फ बिजुलीको माग करिब ३०० मेगावाट भए पनि प्रसारण लाइन क्षमता नै करिब २०० मेगावाटको मात्रै छ।
बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कटैया प्रसारण लाइनबाट बिजुली दिने गरे पनि बेलुकाको समयमा समस्या रहेको उनले बताए।
प्रसारण लाइन जोड्न प्राधिकरणले कुनै कमजोरी गरेको भए प्राधिकरणलाई नै कारबाही हुनुपर्छ। त्यस कारण कमजोरी भएको जानकारी आएको खण्डमा सम्बन्धितलाई जबाफदेही बनाउने उनले बताए।
'तर हातखुट्टा बाँधेर प्रसारण लाइन बनाऊ भनेपछि समस्या दोहोरिरहन्छ,' उनले थपे, 'सम्बन्धित निकायले प्रसारण लाइन बनाउन उपयुक्त वातावरण सिर्जना गरिदिए समस्या हल हुन्थ्यो।'
वर्खामा प्रसारण लाइन अभावमा उत्पादित बिजुली खेर जाने समस्या छ। ऊर्जा उत्पादकहरूका अनुसार यो वर्ष पनि मध्यमर्स्याङ्दी, दोर्दी लगायत करिडोरमा बिजुली खेर जाने अवस्था छ।
सरकारले भने प्रसारण र वितरण प्रणालीमा सहजता आएको दाबी गर्दै आएको छ। मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादित बिजुली प्रसारण र वितरण प्रणालीमा सहजता आएको दाबी गरेका थिए।
विभिन्न कारण लामो समयदेखि रोकिएका प्रसारण लाइन र सबस्टेसन निर्माण काम सम्पन्न भएकाले सहज भएको उनले उल्लेख गरेका थिए। सरकारले राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताका विद्युत प्रसारण लाइनको सुदृढीकरण, विस्तार एंव स्तरोन्नती गर्ने नीति लिएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हेटौंडा-ढल्केवर-इनरूवा प्रसारण लाइन निर्माण सम्पन्न गरिने उल्लेख छ। त्यस्तै बुढीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सुरू गरिने, न्यु बुटवल-गोरखपुर खण्डको प्रसारण लाइन निर्माण अघि बढाइने उल्लेख छ। इनरूवा-पूर्णिया र दोदोधारा-बरेली अन्तरदेशीय प्रसारण लाइनको लगानी विधि तय गरी निर्माण सुरू गरिने पनि नीति तथा कार्यक्रममा छ।
सरकारले हरेक वर्षजसो नीति तथा कार्यक्रम र बजेटमा बिजुली प्रसारण र वितरण प्रणाली सहज बनाउने विषय छुटाउँदैन। तर समस्या भने सुल्झिन सकेको छैन।