स्वतन्त्र ऊर्जा उत्पादहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले ट्रान्समिसन लाइन निर्माणको काम निजी क्षेत्रलाई दिन आग्रह गरेका छन्।
अहिले ट्रान्समिसनलाई नेपाल विद्युत प्राधिकरणले बनाउँदै आएको छ। विद्युत आयोजनाहरूले विद्युत उत्पादन गर्न सुरू गरेर पनि ट्रान्समिसन लाइनको समस्या खेप्दै आएको अवस्थामा इप्नाले यस्तो आग्रह गरेको हो।
जलविद्युतमा लगानीबाट लगानीकर्तालाई दीर्घकालीन लाभ नहुने भन्दै यस क्षेत्रलाई धेरै कर नलगाउन पनि उनको माग छ।
'जलविद्युतले कमाउने रकम निश्चित छ। त्यो भन्दा बढी कमाइ हुँदैन। गत वर्ष हामीलाई मर्मतसम्भार भनेर कर थपियो, स्थानीयले कर लगाउँछन्, करको भारी बोकाउने भन्दा पनि प्रोत्सहनका कार्यक्रम आवश्यक छ,' कार्कीले भने।
उनले अहिले जलविद्युतमा लगानी गर्नको लागि निजी क्षेत्रलाई ६१ खर्ब लगानी आवश्यक रहेको बताए। जलविद्युत निर्माणसँग अन्य पूर्वाधार निर्माण र रोजगारी पनि बढ्ने भएको कारण यो क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।