काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा विद्युतीय तार भूमिगत काम गर्ने निर्माण व्यवसायीलाई धरपकड गर्दा काम हुन नसकेको विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका उपकार्यकारी निर्देशक तारा प्रधानले ठेकेदारहरूलाई महानगरपालिकाले समातेपछि त्रासका कारण काम अघि बढ्न नसकेको बताए।
'एक दिन त इन्जिनियरलाई पनि लगेछ। मिटिङ भनेर लगेर राखेछ,' उनले भने।
तार भूमिगत गर्ने क्रममा धुलो उडाएको तथा फोहोर गराएको भन्दै महानगरले काम गर्न नदिएर धरपकड गरेको उनले बताए।
'निर्माण क्षेत्रमा ब्यारिकेट राखेर काम गर्नुपर्यो भन्ने महानगरपालिकाको कुरा रहेछ। तार भूमिगत गर्न समय लाग्छ। खन्नु पर्यो। तार तान्नुपर्यो। फेरि मिलाउन पर्यो। जसले गर्दा सरसफाइ गर्न समय लाग्छ। ब्यारिकेट राख्नचाहिँ हामीले पनि ठेकेदारलाई भनिरहेका छौं,' उनले भने।
महाराजगञ्ज, बालुवाटार, चाबहिल लगायत महानगरका विभिन्न स्थानमा तार भूमिगत गर्ने काम गर्न बाँकी रहेको र काम गरिरहँदा महानगरको धरपकडका कारण समस्या देखिएको उनले बताए।
समस्या समाधानका लागि छलफल भइरहेको पनि उनले बताए।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्राधिकरणले सम्झौता अनुसार समयमा काम नसकाएका कारण ठेकेदार पक्राउ गर्न परेको बताए।
'समयमा काम सकाउन पर्यो नि। जताततै खाल्डो खन्ने, नपुर्ने, धुलो उडाएर सबै अस्व्यस्त बनाउने। महानगर बनाउने भनेको छ त्यस्तो अस्तव्यस्त छाडेर हुन्छ,' उनले भने।
अब पनि समयमा काम नगरे ठेकेदार पक्राउ गर्ने र सामान पनि जफत गर्ने उनले बताए।
'जता काम सुरू गरेको छ, त्यतै अस्तव्यस्त छ। यो समयमा काम सक्छु भनेर भन्ने अनि लापरबाही गरेर काम नगर्नेलाई त्यसै छाडिन्न,' उनले भने।