नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एउटा प्रसारण लाइन लामो समय लगाएर पूरा गर्दा युद्ध जितेको महसुस गर्नुपर्ने अवस्थाबाट हामी मुक्त हुन नसकेको बताएका छन्।
आइतबार काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
यस्तो अवस्थाबाट चाँडै मुक्त हुन सकेनौँ भने सरकार र जनताले चाहेका द्रुत गतिका विकासको अपेक्षा पूरा गर्न नसकिने उनको भनाइ थियो।
ऐन कानुनमा व्यापक परिवर्तन गरी विकासमैत्री बनाउन जरूरी रहेको उनले औंल्याए।
'जलविद्युत तथा प्रसारण लाइन निर्माणमा मुख्य समस्याका रूपमा रहेको वन कटानी तथा जग्गा प्राप्तिसम्बन्धी कार्यलाइ सहज एवं छिटोछरितो नबनाएसम्म यस्ता आयोजनाहरू पूर्वनिर्धारित समय र लागतभित्र सक्न सम्भव छैन,' उनले भने।