आयोजना पूरा हुने म्याद गुज्रिएको दुई महिना बितिसक्दा पनि ग्वार्को ओभरपासको काम ७० प्रतिशत मात्रै सकिएको छ।
गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यले अहिले धमाधम काम भइरहेको बताए।
असारभित्र काम पूरा हुने उनले जानकारी दिए।
'५० देखि ६० जना श्रमिकले काम गरिराख्नु भएको छ। बिम राख्ने काम सकिएको छ। बाँकी ३० प्रतिशत काम पनि असारभित्र सक्ने भन्ने छ,' उनले भने।
निर्माण कम्पनी आशिष समानान्तर रेलिगेयर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्कीले अहिले स्लोप बनाउने लगायत काम भइरहेको बताए। अब पर्खाल लगाउने, ढलान गर्ने, फिनिसिङ लगायत काम बाँकी रहेको उनको भनाइ छ।
'हामी दैनिक १६ घण्टा काम गरिरहेका छौं। असारसम्म मुख्य–मुख्य काम सक्ने योजना छ। अनि साउनदेखि गाडी गुड्ने व्यवस्था मिलाउने गरी काम गरिरहेका छौं,' उनले भने।
यो आयोजना निर्माणको काम २०८० फागुन १२ गतेभित्र सकिसक्नु पर्ने थियो। तर त्यो अवधिमा सकिएन। सुरूको डिजाइन परिवर्तन गर्नुपरेकै कारण तोकिएको अवधिमा निर्माण नसकिएको निर्माण कम्पनीको भनाइ छ।
अहिले निर्माण कम्पनीले म्याद थपका लागि प्रस्ताव गरेको छ। म्याद थपको फाइल सडक विभागमा पुगेको केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले बताए।
यो आयोजनाको ठेक्का इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको हो। इपिसी मोडल भनेको ठेकेदार आफैले डिजाइन गर्ने उसैले निर्माण गर्ने हो।
इपिसी मोडलमा विविध कारण लागत बढे पनि यसमा ठेकेदार नै जिम्मेवार हुनुपर्छ। यस्तो आयोजनाको काम तोकिएको अवधिमा नसकिँदा म्याद थप गर्नुपर्ने उपयुक्त कारण नभए सरकारले निर्माण कम्पनीलाई हर्जना तिराएर काम गर्न लगाउने व्यवस्था थियो।
अहिले सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनले भने म्याद सकिएका तर खरिद सम्झौता अनुसार काम चालु रहेका खरिद सम्झौतामा डिजाइन परिवर्तन लगायत विभिन्न कारण तोकिएको अवधिमा काम नसकिएका वा सकिने आधार नदेखिएका आयोजनाको म्याद थप गर्न सकिने व्यवस्था गरेको छ।
सो व्यवस्था अनुसार निर्माण कम्पनीले १० महिना म्याद थपका लागि प्रस्ताव गरेको छ। १० महिना भनेको २०८० फागुनदेखि २०८१ पुससम्म हो। विभागले म्याद थपको निर्णय भने गरिसकेको छैन। अब म्याद थप नभएको अवस्थामा मात्रै हर्जना लाग्ने सिडिई महर्जनले बताए।
'मुख्य काम त असार मसान्तसम्म सक्ने भन्ने प्रतिवद्धता आयोजनाले गरेको छ। १० महिना म्याद माग्नुको कारण चाहिँ अरू साना–साना कामहरू सबै सकाउनु पर्ने भएर हो। जस्तै ट्राफिक लाइटहरू हाल्ने, पेन्टिङहरू गर्ने, सडकपेटी बनाइदिने त्यस्ता कामहरू भइराख्छन्। जसका लागि १० महिना मागेको हो,' उनले भने।
ओभरपासको डिजाइनमा त्रुटि हुँदा केही समय मुख्य निर्माणको काम रोकिएको थियो। ओभरपास निर्माण स्थलको माटो कमजोर भएका कारण पिलरको फाउन्डेसन(जग) जमिनमुनी ३४ मिटर गाड्नुपर्ने थियो।
३४ मिटर तल गाड्नलाई जमिनमुनी केसिङ (ढलान गर्दा राख्ने फर्मा जस्तो) राख्नुपर्नेमा त्यस्तो केसिङ राख्नका लागि आवश्यक उपकरण नेपालदेखि भारतसम्म पनि नपाइएकाले अनुकुल हुने गरी डिजाइन परिवर्तन गरिएको केन्द्रको भनाइ छ।
उपत्यकामा धेरै जाम हुने क्षेत्रमध्ये एक ग्वार्को चोकमा लामो समय अगाडिदेखि चर्चामा रहेको ओभरपास २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको हो। निर्माण सुरू भएको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य थियो।
यस्तो ओभरपास नेपालमै पहिलो पटक बन्न लागेको हो। यसमा पिलर प्रयोग हुँदैन। स्लोप (भिरालो) पारेर हाइट (उचाइ) बनाउने र ओभरहेड ब्रिज रहन्छ। चक्रपथ सडकको फास्ट ट्र्याकमा यस्तो स्लोप रहन्छ।
ग्वार्को चोकबाट पश्चिम अर्थात् बिएन्डबी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ। त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइने छ।
यसबीचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ। यसरी कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो। स्लोपको चौडा १६ मिटर रहन्छ। ओभरपास चार लेनकै रहन्छ। बीचका लेनमा ओभरपास रहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहन्छन्।
ओभरपास निर्माणपछि ग्वार्को चोकमा हुने ट्राफिक जाम हट्ने विश्वास सरकारको छ। ग्वार्को चोकबाट आरपार गर्ने सवारीहरू ३५ मिटरको ओभरहेड मुनीबाट गुड्ने हुँदा जाम नहुने उल्लेख गरिएको छ।
सडक विभागले २०७८ सालमा ओभरपास निर्माण ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो। निर्माणको जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ। यो ओभरपास १७ करोड ६ लाख रूपैयाँमा ठेक्का लागेको हो। निर्माण सकिएको पाँच वर्षसम्म मर्मतसम्भारको काम पनि ठेकेदारले नै गर्नुपर्नेछ।