नवीकरणीय ऊर्जाको माध्यमबाट कृषिको लागि दिगो सिँचाइ प्रवर्द्धनसम्बन्धी राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँगको सहकार्यमा सम्मेलन गर्ने भएको हो।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्मेलन २२ अप्रिलदेखि २६ सम्म सप्ताहब्यापी हुने बताए।
ढकालले नवीकरणीय ऊर्जाले वातावरणीय चुनौतीहरूबाट उत्पन्न समस्याको सामना गर्न र हिमाली, पहाडी तथा तराई क्षेत्रमा कृषि उत्पादकत्व वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले केन्द्र र इसिमोडले तयार गरेको नवीकरणीय ऊर्जाको उत्पादनमूलक उपयोग प्लेटफर्म अनुसार नेपालमा हालको सिँचाइ मागलाई सम्बोधन गर्न ८०० देखि १३०० मेगावाट बराबरको नवीकरणीय ऊर्जाको आवश्यकता रहेको बताए।
त्यस्तै इमीसँगको सहकार्यमा गरिएको सौर्य सिँचाइसम्बन्धी अनुसन्धानले नवीकरणीय ऊर्जा अनुदान नीतिमा साना कृषक तथा समुदायमा आधारित सौर्य सिँचाइ प्रणालीको लागि अनुदान उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न योगदान पुर्याएको बताए।
साथै, उनले यस्ता सम्मेलनहरूले नवीकरणीय ऊर्जाको माध्यमबाट कृषि र सिँचाइ प्रणालीहरूमा जलवायु उत्पानशीलता वृद्धि गर्नको लागि सामूहिक छलफल गरी आवश्यक रणनीति निर्माण गर्न सघाउ पुग्ने उल्लेख गरे।
सम्मेलनमा मुख्य तीन कार्यक्रमहरू राखिएको छ। सौर्य सिँचाइसम्बन्धी राष्ट्रिय विज्ञान–नीति संवाद, हिन्दुकुश हिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमूलक उपयोग वृद्धिसम्बन्धी क्षेत्रीय सम्मेलन र सामाजिक रूपमा समावेशी सौर्य सिँचाइ प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञान नीति सम्मेलन छन्।
यी तीनवटा सम्मेलनहरू जलवायु उत्थानशील सिँचाइमार्फत् दिगो कृषिको लागि रुपान्तरणकारी विकल्पको रूपमा नवीकरणीय ऊर्जाको भूमिकाको विषयमा केन्द्रित रहनेछन्।
सौर्य सिँचाइसम्बन्धी राष्ट्रिय विज्ञान–नीति संवादको मुख्य उद्देश्य समावेशी, स्तरोन्नति तथा दिगोपनामा आधारित सौर्य सिँचाइ प्रणाली विकाससम्बन्धी विज्ञान नीति संवादमा नीति निर्माताहरू अनुसन्धानकर्ताहरू, निजी क्षेत्र, विकास साझेदारहरू, नागरिक समाजलगायत सरोकारवालाहरूलाई एकसाथ संलग्न गराउने रहेको केन्द्रले जनाएको छ।
त्यसैगरी सौर्य सिँचाइसम्बन्धी नेपालको ज्ञान तथा अनुभव आदान-प्रदान गर्नु, प्रमुख सरोकारवालाहरूबीच नीतिगत संवादलाई प्रोत्साहन गर्नु र नेपालको सौर्य सिँचाइ क्षेत्रमा भविष्यमा गर्नुपर्ने अनुसन्धान तथा अवसरहरूको पहिचान गर्नु रहेको उल्लेख गरिएको छ।
यो सम्मेलनले नेपालमा सौर्य सिँचाइ प्रणालीको प्रवर्द्धनमा वृद्धि गरी जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन, सौर्य सिँचाइ कार्यान्वयनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको प्रवर्द्धन जस्ता विषयहरूमा जोड दिँदै सौर्य सिँचाइ कार्यक्रमको दिगोपन र उत्थानशीलतामा सघाउ पुर्याउने उल्लेख गरिएको छ।
हिन्दुकुश हिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमूलक उपयोग वृद्धिसम्बन्धी क्षेत्रीय सम्मेलनले हिन्दुकुश हिमालय क्षेत्रमा रहेका देशहरूबाट प्रतिनिधित्व गर्ने नीति निर्माता, विज्ञ, व्यवसायी र सरोकारवालाहरूलाई एकसाथ सहभागी गराइ कृषि क्षेत्रमा उत्पादनमूलक उपयोगको लागि नवीकरणीय ऊर्जाको सम्भावनाबारे स्पष्ट दिशानिर्देश गर्ने अपेक्षा केन्द्रको छ।
यस क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रवर्द्धनलाई प्रोत्साहित गर्न सघाउ पनि पुग्ने विश्वास लिइएको छ। यो क्षेत्रीय सम्मेलनले आवश्यक पूर्वाधारहरूको साझा एजेण्डा स्थापित गर्न प्लेटफर्मको रूपमा समेत काम गर्ने गरी हेरिएको छ।
इसिमोडका ऊर्जा विज्ञ अभिषेक मल्लले स्वच्छ ऊर्जाको रुपान्तरणले अन्य क्षेत्रहरूमा धेरै फड्को मारे तापनि कृषि क्षेत्रलाई रूपान्तरण गर्न यसको क्षमताको उपयोग नसकेको बताए।
उनले नेपालको कुल गार्हस्थ उत्पादनको एक तिहाइ हिस्सा ओगट्ने र देशको दुई तिहाइ जनसंख्यालाई रोजगारी दिने कृषि क्षेत्रमा केन्द्रित हुनु महत्त्वपूर्ण रहेको बताए।
नेपालको उदाहरण दिँदै विशेष गरी जलवायु परिवर्तनको प्रभावबाट बदलिदो परिवेशमा पानीको उपलब्धता कम हुने स्थानमा उच्च कुपोषणको दर रहने पनि उनले औँल्याए।
समावेशी सौर्य सिँचाइ प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञान नीति सम्मेलनले कृषिमा सौर्य ऊर्जाको प्रभावकारी र दिगो प्रयोगको बारेमा विश्वव्यापी महत्त्वाकांक्षाको मापन, दक्षिण एसिया तथा विश्वमा कृषिमा सौर्य ऊर्जा प्रयोगको बढ्दो प्रभाव बारे छलफल गर्नेछ।
यो सम्मेलनले छलफल गर्न करिब १५० प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याइने छ।