उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल ग्रिन हाइड्रोजन युगमा प्रवेश गरिसकेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले ग्रिन हाइड्रोजन सम्बन्धी कानून बनिसकेकाले अब कार्यान्वयनमा जाने बताए।
'नीति पढ्दा, सुन्दा मिठा लाग्छन्। तर कार्यान्वयनमा लैजान चुनौति देखिने गरेको छ। सरकारले २०८० मा मुख्य ढोका खोलिसक्यो। अब प्राथमिकताका साथ अघि बढाउँछौं,' बस्नेतले भने।
सरकारले ग्रिन हाइड्रोजन विकासमा निजी क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउने पनि बताए। निजी क्षेत्रको सहभागिता, नियमन, अनुगमन लगायत विषयलाई कानूनले समेत स्पष्ट पारेको उनले उल्लेख गरे।
ग्रिन हाइड्रोजन नीति कार्यान्वयनका लागि तालुकदार निकाय बनाएर अघि बढ्ने पनि उनले बताए।
कार्यक्रममा उर्जा उत्पादकहरूले सरकारले ग्रिन हाइड्रोजन उत्पादनलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
अपी पावर कम्पनीका संस्थापक अध्यक्ष गुरूप्रसाद न्यौपानेले ग्रिन इनर्जी हेर्ने छुट्टै तालुकदार निकाय हुनुपर्ने बताए। उनले नेपालमा आफै केही गर्न खोज्दा सरकारबाट सहयोग नपाएको समेत गुनासो गरेका छन्।
'हामी ठोकिने डेस्क हुनुपर्यो। रासायनिक मलमा हरेक वर्ष १५ देखि २० अर्ब बाहिरिरहेको छ। नेपालमै सम्भावना छ। हामी आफै उत्पादन गर्न सक्छौं भन्दा सरकारले सहयोग गरिरहेको छैन,' उनले भने।