ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले जलविद्युत क्षेत्रका समस्या समाधान गर्ने बताएका छन्।
सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था 'इप्पान' ले आयोजना गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया, उपादेयता र दीर्घकालीन महत्व विषयको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरोकारवालाहरूले समन्वय गरी समाधानको बाटोमा जाने बताए।
उनले जलविद्युतको विकासको लागि समस्या बल्झाउने उद्देश्य सरकारको नभएको दाबी गरे।
'जलविद्युत क्षेत्रमा देखिएका नीतिगत, वन तथा वातावरण क्षेत्रमा देखिएका समस्या समाधान गरेर लैजाने योजना छ,' उनले भने।
सरकार र निजी क्षेत्र आरोप प्रत्यारोपभन्दा पनि आपसी समन्वय गरेर जाँदा मात्रै जलविद्युतको विकास हुने उनको भनाइ छ।
मुलुकमा जलविद्युतको क्षेत्रबाट हेर्दा धेरै आशावादी हुने ठाउँ रहेको उनले बताए। पछिल्लो आठ वर्षमा २५ सय मेगावाट विद्युत उत्पादन भएको र अबको १२ वर्षमा २८ हजार विद्युत उत्पादन गर्ने गतिमा सरकार अघि बढेको उनले उल्लेख गरे।
'निजी क्षेत्र निराश हुनुपर्ने अवस्था छैन,' उनले भने।
उनले निजी क्षेत्र सरकारसँग आशावादी भएर समन्वय र सहकार्यमा अघि बढ्न आग्रह गरे।