ललितपुरको ग्वार्को फ्लाइ ओभर निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय बासिन्दाले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन्।
ग्वार्कोमा निर्माणाधीन फ्लाइ ओभर आउँदो जेठभित्रै सक्न आग्रह गर्दै स्थानीयले ध्यानाकर्षण गराएका हुन्।
फ्लाइ ओभर निरीक्षण गर्न पुगेका बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले परियोजना निर्माणमा धेरै नै ढिलासुस्ती भइरहेको प्रतिक्रिया दिए।
परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकारभर नै ट्राफिक प्रणालीमा असर परेको उनले बताए।
उनले समयमा काम सम्पन्न नहुँदा स्थानीयलाई दैनिक जनजीवनमा असर परेको उनको भनाइ थियो।
‘यो परियोजना साह्रै नै ढिलासुस्ती भयो। यो परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकारभरकै ट्राफिक प्रणालीमा असर पारेको छ,’ उनले भने, ‘स्थानीय जनतालाई दैनिक जीवन पनि सहज बनाइ चल्न सकेका छैनन्। तीन सिफ्टमै काम गरेर र एक्सन प्लान बनाएर जेठ मसान्तसम्म सक्ने भन्ने जुन खालको प्रतिबद्धता गर्नुभएको छ, त्यहीअनुसार काम भएको छ की छैन भनेर निरीक्षण गर्न आएका हौँ।’
निर्माण कम्पनीले भने केही समय यता २४ सै घण्टा काम गरिरहेको दाबी गरेको छ। ६ मिटर उचाइ हुने फ्लाइ ओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ। कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिनेछ।
(न्युज एजेन्सी नेपाल)