ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ 'ब्रेक थ्रु'(छिचोलिएको) छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रूपमा स्विच दबाएर बिस्फोट गराएपछि मुख्य सुरुङ ब्रेक थ्रु भएको हो।
आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मिटर लामो सुरूङ ब्रेक थ्रु छ।
मुख्य सुरुङको ब्यास ७.४ मिटर रहने छ। अब मुख्य सुरूङको कंक्रिट लाइनिङ गरिने छ। मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत् भूमिगत विद्युत गृहमा खसाली विद्युत उत्पादन गरिने छ।
सुरूङ ब्रेक थ्रु गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको बताए। उनले मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे।
'कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोशी, नलगाढ, बूढीगण्डकी जस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,' उनले भने।
सुख्खायामको विद्युत माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेबार भएर लाग्नु पर्ने बताए।
'मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरूङ ब्रेक थ्रु गरी आयोजनाका मुख्य माइलस्टोनहरू पूरा भएका छन्, निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न गर्न बाँध निर्माणको कामलाई तिव्रता दिन आयोजना व्यवस्थापन, परामर्शदाता निर्माण व्यवसायी सबै जिम्मेबार भएर लाग्नु पर्छ,' उनले भने।
उनले आयोजननाबाट विद्युत उत्पादनपछि प्राप्त हुने बहाब र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको निर्माण छिट्टै अगाडि बढाइने बताए।
अयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, समस्याका बारे जानकारी गराए। मुख्य संरचना तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत छ।
समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे)सक्ने लक्ष्य राखिएको छ। प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माणकार्य धमाधम भइरहेको छ।
आगामी असार दोस्रो साता (मे २०२४) भित्र जग खन्ने काम सक्ने र त्यसपछि मुख्यबाँधको जग निर्माण जुलाई २०२४ बाट सुरू गर्ने लक्ष्यका साथ काम भइरहेको छ। प्याकेज–१को समग्र भौतिक प्रगति २९ प्रतिशत छ।
प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन, नेपाल जेभीले गरिरहेको छ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिक तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ।
भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत गृहमा रहने उपकरणहरू जडानलगायतका कार्यहरू भइरहेका छन्। टेलरेस निर्माण सकिएको छ। यस प्याकेजको समग्र भौतिक प्रगति करिब ५५ प्रतिशत छ।
प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण केइसी. इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ। ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७६ वटा टावरको जग हालिएको प्राधिकरणले जनाएको छ। ६२ वटा टावर खडा गरिएको छ। यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत छ।
आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ।
यसअन्तर्गत स्थानीय रूपमा विद्युत आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
उक्त सबस्टेसनहरूसम्म विद्युत पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ। तनहुँ जिल्लाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरूमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरू जडान र ११केभी लाइन निर्माण गरिएको छ।
सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्र माहालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माण गरी ५६ वटा परियोजना सकिएका छन्। सात वटा परियोजना निर्माणाधीन छन्। आयोजना प्रभावितको जीविकोपार्जन तथा आयाआर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको छ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।