ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई ऊर्जा उत्पादकहरूले व्यवहारमा शक्ति नदेखिएको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बोल्दै सुपर हेवा पावर कम्पनीका म्यानेजिङ डाइरेक्टर निमा वाङ्गेल लामाले मन्त्री बस्नेतले पीडामा परेका व्यवसायीहरूका लागि बोल्न नसकेको बताए।
'दुःख नमान्नुस्, ऊर्जामन्त्रीज्यूले अलि कस्सिएर बोलिदिनुभएन। नाम शक्ति बस्नेत, शक्ति रोज्न उहाँले सक्नुभएन। हामी पीडा भोग्ने मान्छेहरूका लागि यहाँ कस्सिएर बोल्नुपर्ने थियो,' उनले भने।
गत वर्षको असारमा पूर्वी नेपालमा आएको बाढीका कारण उनको जलविद्युत आयोजना समेत ३१ आयोजनामा क्षति पुगेको थियो। क्षति पुगेका आयोजनामा राज्यले कुनै पनि सहुलियत उपलब्ध गराउन नसकेको गुनासो उनको छ।
बाढीका कारण आफ्नो आयोजना पूर्ण क्षति भएको र १८ जना श्रमिकले ज्यान गुमाउनु परेको अवस्थामा पनि सरकारले केही सहयोग नगरेको उनले बताए। उनको आयोजनामा कार्यरत मृतका श्रमिकमध्ये ४ जनाको शव भेटियो। १४ जना अझै बेपत्ता छन्।
'उहाँहरूको परिवारलाई भोलिपल्ट गएर मैले बाटो खर्च र तीन जना उपचार गर्नुपर्ने अवस्थाकालाई उपचार खर्च दिएँ। बीमा बापत मृतक परिवारलाई एक एक लाख दियौं। हामीले यस्तो अवस्था झेल्नुपर्यो,' उनले भने।
यस्तो अप्ठ्यारोमा राज्यले सहुलियत दिनुपर्नेमा बेवास्ता गरेको गुनासो उनको छ।
बाढीले क्षति पुर्याएका आयोजना पुर्ननिर्माणका लागि ल्याइएका सामग्री पनि लामो समयदेखि भन्सारमा रोकिएको उत्पादकहरूले बताएका छन्। सरकारले भन्सार छुट दिनुपर्ने माग उनीहरूको छ।
क्षति पुगेका आयोजनालाई राज्यले कम्तीमा पनि दुई वर्षसम्म ब्याज सहुलियत दिनुपर्ने उनको भनाइ छ।