वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सौर्य रुफटप प्रणाली प्रवर्द्धन सम्बन्धमा निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) सँग अन्तर्क्रिया कार्यक्रम गरेको छ।
कार्यक्रममा केन्द्र तथा केन्द्र अन्तर्गतका कार्यक्रमहरू, प्याब्सन, सौर्य ऊर्जा प्रवर्द्धनमा क्रियाशील निजी क्षेत्रका कम्पनी तथा सो को छाता संगठन (सिम्यान), ऊर्जा सेवा प्रदायक कम्पनीबाट ४० जनाभन्दा बढीको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले हाल सञ्चालित उल्लेखित २ वटा कार्यक्रम अन्तर्गत कुल ३१ मेगावाट सौर्य रूफटप प्रणाली जडान गर्ने लक्ष्य लिएको बताए।
उक्त लक्ष्य हासिलको लागि प्याब्सनसँग आबद्ध करिब सात हजार निजी तथा आवासीय विद्यालयहरूमा सौर्य रूफटप प्रणाली जडानको लागि सम्भावित क्षेत्रको रुपमा रहेको बताए।
उनले सौर्य ऊर्जामा आधारित उक्त प्रणालीको जडानले उद्योग व्यावसायमा दैनिक रूपमा प्रयोग हुने डिजेल खपतमा कमी ल्याइ हरित ऊर्जाको उपयोगबाट कार्वन उत्सर्जन न्यूनीकरणमा सघाउ पुर्याउने बताए।
रूफटप प्रणालीले दिउँसोको समयमा ऊर्जा उत्पादन गर्ने हुँदा स्टोरेज क्षमता भएका जलविद्युत आयोजनामा विद्युतको माग बढी हुने समयको लागि पानीको भण्डारण गरी विद्युत सुरक्षालाई समेत सहयोग गर्ने उनको भनाइ छ।
सौर्य ऊर्जा रूफटप प्रणालीलाई नेट मिटरिङ प्रक्रियाबाट ग्रिडमा जोड्न समेत सकिने हुनाले औद्योगिक क्षेत्रमा उत्पादित विद्युत खपत नहुने समयमा ग्रिडमा आपूर्ति गरी राष्ट्रिय प्रसारण प्रणालीलाई गुणस्तरीय र भरपर्दो बनाउन सहयोग पुग्ने उल्लेख गरे।
प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारीले सौर्य रुफटप प्रणाली जडानमा प्याब्सनको चासो व्यक्त गरे। सौर्य ऊर्जाबाट उत्पादित विद्युत तथा विद्युत उत्पादनका उपकरणहरू विश्वसनीय गुणस्तरीय र भरपर्दो हुनु आवश्यक रहेको बताए।
लोडसेडिङ भएको अवस्थामा विद्युतको वैकल्पिक स्रोतको रूपमा उपयोग गर्न सकिने भएकोले मन्टेश्वरी सहित लगभग १२ हजारको संख्या (हाल प्याब्सनमा आबद्ध ७ हजार सहित) निजी तथा आवासीय विद्यालयमा रूफटप प्रणाली जडानको महत्त्वपूर्ण बन्न सक्ने बताए।
नेपाल सौर्य विद्युत उत्पादक संघ (सिम्यान) का अध्यक्ष कृष्णप्रसाद पराजुलीले सौर्य रुफटप प्रणालीको महत्त्वको बारेमा बोल्दै कम्पनीले प्रदान गर्ने सेवामा शत प्रतिशत ग्यारेन्टी प्रदान गर्ने बताए। नेपालका सौर्य ऊर्जा कम्पनीहरू ग्राहकले चाहेजस्तो सेवा प्रदान गर्न सक्षम रहेको उल्लेख गरे।
कार्यक्रममा केन्द्रका निर्देशक डा. नारायण प्रसाद अधिकारीले विश्व परिवेशमा जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जाको महत्त्व उल्लेखनीय रहेको बताए।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा प्याब्सनसँग सहकार्यलाई निरन्तरता दिइने उल्लेख गरे। हालको नीतिगत व्यवस्थालाई सरलीकृत गर्दै प्याब्सनमा आबद्ध सात हजार निजी तथा आवासीय विद्यालयहरूमा सौर्य रूफटप प्रणालीको प्रवर्द्धनमा जोड दिने बताए।
केन्द्र र जर्मन सरकारको सहयोगमा सञ्चालित ग्रामीण तथा अर्धसहरी क्षेत्रको लागि सौर्य ऊर्जा प्रवर्द्धन आयोजना तथा केन्द्र र बेलायत सरकारको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम सौर्य रूफटप प्रणाली जडान गर्ने कार्य भइरहेको छ।
कार्यक्रमको उद्देश्य डिजेल खपत भइरहेका उद्योग तथा निजी व्यवसायहरूमा हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्नु रहेको छ।
नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ मा व्यावसायिक प्रयोजनका लागि १५०० वाट पिक क्षमताभन्दा बढी सौर्य रूफटप प्रणाली जडान गर्दा पाँच वर्षका लागि मासिक किस्तामा ब्याजको ५० प्रतिशत रकम अनुदान उपलब्ध गराइने प्रावधान छ।
घरायसी प्रयोजनका लागि ५०० वाट पिक क्षमताभन्दा बढीका सौर्य ऊर्जा प्रणाली जडानका लागि पाँच वर्ष मासिक किस्तामा बैंक ऋण लिँदा ब्याजको ७५ प्रतिशत रकम अनुदान स्वरुप बैंकमार्फत् उपलब्ध गराइने प्रावधान छ।
त्यसैगरी केन्द्रिय नवीकरणीय ऊर्जा कोष (सञ्चालन) निर्देशिका, २०७१ (पहिलो संसोधन, २०७८) मा राष्ट्रिय प्रसारणमा जडान हुने र कम्तीमा वार्षिक उत्पादित विद्युतको ५१ प्रतिशत स्व–उपयोग गर्ने क्याप्टिभ आयोजनालाई प्रस्तावक संस्थाले लिने कर्जाको ब्याजमा वित्तीय संस्थाले तोकेको ब्याजको पाँच वर्षसम्मको बढीमा ५० प्रतिशतसम्म ब्याज सहुलियत दिने व्यवस्था छ।
त्यस्तै उत्पादित विद्युतमा पाँच वर्षसम्मको लागि प्रति युनिट बढीमा एक रूपैया ५० पैसा भायबिलिटी ग्याप फन्डिङ उपलब्ध गराउने व्यवस्था छ।