'समृद्धिका लागि हरित ऊर्जा' भन्ने मुल नारा सहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन गइरहेको एक्स्पोमा 'समृद्धिका लागि हरित ऊर्जा' भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडिओ बनाउने र हाइड्रोपवारका सामग्री वा सेवासँग सम्बन्धित आइडिया प्रस्तुत गर्ने 'जलविद्युत उत्पादन र सेवा प्रतियोगिता' आयोजना गर्न लागिएको हो।
नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको महत्त्व दर्शाउन दुई विधामा प्रतिस्पर्धा गराउन लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए। हरेक प्रतिस्पर्धाका विजेताले ४४/४४ हजार रूपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्।
छोटो भिडिओ बनाउँदा ९० सेकेण्डको भिडिओमा समृद्धिका लागि हरित ऊर्जाको महत्त्व दर्शाउनु पर्नेछ।
उक्त भिडिओहरू आयोजक संस्था इप्पानको वेबसाइट, इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसनको वेबसाइट र हिमालयन हाइड्रो एक्स्पोको वेबसाइट तथा अफिसियल सामाजिक सञ्जालहरू फेसबुक इनडिपेन्डेन्ट पावर प्राेड्युसर एसोसिएसन नेपाल (आइपिपिएएन), इन्स्टाग्राम, युट्युब, लिङ्कडिन लगायतमा पोस्ट गरिनेछन्।
सबैभन्दा धेरै लाइक, सेयर र कमेन्ट पाउने भिडिओलाई पहिलाे र दाेस्राे पुरस्कार दिइनेछ। पहिलाे पुरस्कार ४४ हजार र दाेस्राे पुरस्कार २२ हजार रूपैयाँ रहेको छ। भिडिओ पठाउने अन्तिम मिति चैत २७ गते रहेको छ भने ११ वैशाख २०८१ सम्म आउने लाइक र कमेन्टलाई प्रतिस्पर्धामा गणना गरिनेछ।
त्यस्तै हाइड्रोपवार उत्पादन र सेवासँग सम्बन्धित आइडियाहरु देखाउने प्रतिस्पर्धाका सहभागीहरूले भने आफ्ना रचनात्मक आइडियाहरू एक्स्पो अवधि २०८१ वैशाख १२ देखि १४ गतेभित्र एक्स्पो स्थल भृकुटीमण्डपमा देखाउनुपर्ने छ।
यो प्रतिस्पर्धामा सहभागी हुन भने ५ जनासम्मको समूहलाई २५ सय रूपैयाँ सहभागिता शुल्क तोकिएको छ। यो शुल्कमा हरेक व्यक्तिलाई ३ दिनसम्म लञ्च कुपन उपलब्ध गराइने छ। यसमा पनि पहिलो हुने व्यक्ति वा समूहले ४४ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन्। दाेस्राे र तेस्राे हुनेले भने क्रमश: २२ र ११ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
एक्सपाेको अवसरमा अयोजना गरिएको प्रतिस्पर्धाले हरित ऊर्जाले समग्र विकासमा पारेको प्रभाबारे सर्वसाधारणलाइ जनचेतना दिनुका साथै ऊर्जा क्षेत्रमा प्रयोग हुने नयाँ-नयाँ अवधारणाहरूको बारेमा जान्न र बुझ्न सहयोग पुग्ने इप्पानका महासचिव बलराम खतिवडाले बताए।
३ दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरूका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा सेमिनार सञ्चालन हुनेछन्। ५० हजारभन्दा धेरै अवलोकनकर्ताले एक्सपाे अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।