बंगलादेश नेपालको बिजुली प्रतियुनिट (६.५ अमेरिकी सेन्ट) ८ रूपैयाँ ६० पैसामा किन्न तयार भएको छ।
दुई देशका अधिकारीहरूको छलफलपछि बंगलादेश प्रतियुनिट ८ रूपैयाँ ६० पैसामा बिजुली किन्न तयार भएको बंगलादेशबाट प्रकाशित डेली अब्जर्भरले उल्लेख गरेको छ।
अधिकारीहरूको छलफलमा यो मूल्यमा सहमति जुटे पनि त्यहाँको मन्त्रिपरिषदबाट भने स्वीकृत पाइसकेको छैन।
प्रसारण लाइन प्रयोग गरेबापत शुल्क र ट्रेड मार्जिन (सर्भिस चार्ज) पनि बंगलादेशले नै तिर्नुपर्नेछ।
यसअघि बंगलादेशले नेपालबाट प्रतियुनिट पाँच सेन्टमा बिजुली किन्न चाहेको थियो। नेपालले भने प्रतियुनिट ७ सेन्ट अर्थात् ९ रूपैयाँ २४ पैसामा बिक्री गर्न चाहेको थियो। मूल्यको विषयमा टुंगो नलाग्दा दुई देशबीच विद्युत व्यापार सम्झौतामा ढिलाइ भइरहेको थियो।
नेपालबाट ४० मेगावाट बिजुली निर्यात गर्ने कुरा अघि बढिसकेको छ।
यसअघि यो बिजुली बंगलादेश निर्यातका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितकाे टोली बंगलादेश गएको थियो। तर मूल्यमा सहमत हुन नसक्दा सम्झौता भएको थिएन।
ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहका अनुसार यहि वर्खादेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने गरी कुरा अघि बढेको छ। सम्झौता पनि छिट्टै हुने उनले बताए।