नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको छ।
प्राधिकरणको चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रूपैयाँ आम्दानी गरेको छ।
विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरूलगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रूपैयाँ खर्च भएको छ। प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ।
प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रूपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रूपैयाँ थियो।
गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रूपैयाँले बढी हो। गत आर्थिक वर्षको नाफा १२ अर्ब ३३ करोड रूपैयाँ थियो।
आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए।
प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रूपैयाँ संकलन गरेको छ।
यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरूबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रूपैयाँको विद्युत खरिद गरिएको छ।
प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरूबाट २८ अर्ब ४९ करोड ९६ लाख रूपैयाँ र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रूपैयाँको विद्युत आयात गरिएको बताइएको छ।
समीक्षा अवधिमा नेपाल सरकारमार्फत् विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्ब ३ करोड ८४ लाख रूपैयाँ खर्च भएको प्राधिकरणको भनाइ छ।