मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने १०६ वर्ष पुरानो चुरियामाई सुरूङमार्गको मर्मतसम्भारकाे काम सकिएको छ।
गत माघमा मर्मतसम्भारको काम पूरा भएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले बताए।
नेपालकै पहिलो मानव निर्मित मानिने यो सुरूङ बागमती प्रदेशको राजधानी हेटौंडा उप-महानगरपालिका १५ स्थित चुरियामाई क्षेत्रमा छ। लामो समयदेखि प्रयोगमा नआउँदा यो सुरूङ मार्ग जीर्ण बनेको थियो।
इतिहास बोकेको यो सुरूङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशले मर्मतको योजना बनाएको थियो। सोही योजनाअनुसार २०७८ वैशाखमा निर्माण कम्पनी माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडसँग सम्झौता भएको थियो।
सम्झौता भएको केही महिनादेखि मर्मतको काम सुरू गरिएको प्रवक्ता ओझा बताउँछन्। सुरू गरेको एक वर्षभित्र सुरूङ मर्मतको काम सक्ने योजना थियो। तर, झण्डै दुई वर्षपछि काम सकिएको हो।
'कोरोना महामारीले पनि केही समय धकेलियो। त्यसमाथि हामीले सुरूमा सोचेकोभन्दा धेरै सुरूङ भासिएको रहेछ। जसले गर्दा पनि धेरै समय लम्बियो,' उनले सेतोपाटीसँग भने।
सुरूमा २० मिटर सुरूङ भासिएको अनुमान गरिएको थियो। तर मर्मतका क्रममा ४० मिटर भासिएको पाइएको उनले बताए। सुरूआतमा सुरूङको कुल १९८ मिटर मर्मत गर्नुपर्ने अनुमान थियो। तर काम गर्दै जाँदा मर्मतसम्भार गर्नुपर्ने सुरूङको लम्बाई बढेको निर्देशनालयले जनाएको छ।
जसले गर्दा तीन करोड ३६ लाख रुपैयाँमा ठेक्का लगाइए पनि लागत बढेर तीन करोड ८४ लाख रुपैयाँ पुगेको ओझाले बताए।
'भासिएको ठाउँमा काम गर्न निकै गाह्रो भयो। जति खन्यो उत्तिनै भासिने समस्या भयो। अनुमानभन्दा बढी मर्मत गर्नुपर्ने भएकाले पनि लागत बढ्यो,' उनले भने।
चुरियामाई सुरूङ १९७४ सालमा बनेको हो। यो सुरूङको निर्माण नेपालको पहिलो सिभिल इन्जिनियर डिल्लीजंग थापाले गरेका थिए। यो सुरूङमार्गको लम्बाई ५०० मिटर थियो। चौडाई साढे दुई मिटर र उचाइ तीन मिटर थियो।
तर लामो समयसम्म प्रयोगविहीन बनेको यो सुरूङ एकातिरको भाग पुरिएको छ। हाल करिब २८० मिटर बाँकी रहेको अनुमान छ।
बाँकी रहेको यो सुरूङमध्ये पनि जोखिम रहित १९८ मिटर मर्मत गर्नुपर्ने अनुमान गरिएकोमा २२५ मिटर भेटिएको निर्देशनालयले जनाएको छ।
'राजमार्गबाट सुरक्षित दूरी हिसाब गरेर खोल्दा अनुमानितभन्दा करिब २७ मिटर दूरी बढेको छ,' प्रवक्ता ओझाले भने।
प्रवक्ता ओझाका अनुसार मर्मतपछि सुरूङ वारपार गर्न सक्ने भएको छ। अब यो सुरूङ अवलोकनका लागि तयार भइसकेको छ। तर पर्यटकहरूका लागि कहिलेदेखि खुला गर्ने भन्ने योजना तयार भइसकेको छैन।
यसलाई यातायातसम्बन्धी अध्ययन केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकारलाई हस्तान्तरण गर्ने वा प्रदेशअन्तर्गत पर्यटन कार्यालयको जिम्मा लगाउने भन्ने निर्क्याैल भइनसकेको उनले बताए।
'यो ऐतिहासिक सुरूङ मार्गलाई यातायातसम्बन्धी अध्ययन तथा अनुसन्धान केन्द्र पनि बनाउन सकिन्छ। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन पनि गर्न सकिन्छ। कसरी जाने भन्ने योजना बनिसकेको छैन। छलफलमै छ,' उनले भने।
राणाकालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा बारा र मकवानपुर जिल्लाको सिमानामा रहेको चुरे पहाडलाई खोपेर यो सुरूङ बनाइएको थियो। त्यसबेला रक्सौल नाका हुँदै काठमाडौं सामान ओसार्न सहज होस् भनेर सुरूङ बनाइएको थियो। राणाकालमा रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेल आउँथ्यो।
अमलेखगन्जबाट मकवानपुरको भीमफेदीसम्म सडकमार्ग थियो। सडकबाट चुरे पहाड हुँदै हेटौंडा छिर्नुपर्थ्यो। चुरे पहाडबाट घुमाउरो बाटो र लामो समय लाग्ने समस्या हुने भएकाले त्यसको विकल्पमा सुरूङ निर्माण गरिएको थियो।
त्यसबेला सुरूङको उद्देश्य व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेको भारतको रक्सौल र नेपालको सुख्खा बन्दरगाहका रूपमा विकास गर्न सकिने भीमफेदीमा सहज पहुँच निर्माण गर्ने थियो।
सुरूङ मार्ग हुँदै सवारी चल्थे। मालबाहक सवारी साधनले भीमफेदीसम्म सामग्री ओसार्थे। भीमफेदीबाट मानिसहरूले बोकेर सामान काठमाडौं ओसार्थे। लामो समय सुरूङ प्रयोगविहीन भयो। पछि सुरूङबीच खण्ड भत्काएर त्रिभुवन राजमार्ग बनाइयो। लामो समयदेखि मर्मत सम्भारको पर्खाइमा रहेको उक्त सुरूङलाई प्रदेशले अघि बढाएको हो।
'मुलुककै पहिलो मानव निर्मित सुरूङ संरक्षण गर्न सके ऐतिहासिक, राजनीतिक तथा तत्कालीन सामाजिक अवयवहरूलाई जीवन्त तुल्याउन सकिन्छ। यसबाट अनन्तकालसम्म पर्यटन प्रवर्द्धन गर्न सहज पुग्छ,' उनले भने।
पर्यटन प्रवर्द्धन गर्न सके स्थानीय स्तरमा थुप्रै अवसरहरू सिर्जना हुने उनले बताए। यो सुरूङमार्ग नजिकै धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको चुरियामाई मन्दिर पनि छ। सुरूङ हुँदै उत्तरतर्फबाट मन्दिर प्राङ्गण पुगिन्छ। हेटौंडामा अन्य थुप्रै पर्यटकीय स्थल भएका कारण पर्यटन प्रवर्द्धनमा सुरूङले थप टेवा पुग्ने विश्वास लिइएको छ।