मुलुकको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उप–महानगरपालिका–११ थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
हेटौंडा सबस्टेसनमा ४००/२२० केभी, २२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् ।
एक महिनाभित्र निर्माण सकेर सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सबस्टेसनका उपकरणहरू जडान, परीक्षणलगायत काम अन्तिम चरणमा पुगेका छन्।
सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्ति समेत गरिने छ। यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ।
निर्माण अनुगमनमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पछिल्लो समयमा सबस्टेसनको काम सन्तोषजनक देखिएको बताए।
कार्यकारी निर्देशक घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेका थिए। घिसिङले एक महिनाभित्रमा सबस्टेसन सञ्चालनमा ल्याउने गरी बाँकी काम सक्न निर्देशन दिए।
नेपाल सरकार र प्राधिकरणको लगानीमा हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन ४००/२२० केभी हेटौंडा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन्। जसको क्षमता ९४५ एमभिए छ।
धनुषाको ढल्केबरबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ। यसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ।
आयोजनाअन्तर्गत नै ढल्केबर र इनरूवामा ४००/२२० केभीका सबस्टेसन निर्माण सकिएर सञ्चालनमा छन्। हेटौंडा र इनरूवा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो।
देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा २२०÷ १३२ केभी सबस्टेसन निर्माण गरिएको हो।
सबस्टेसनमा १६०/१६० एमभिएका दुई वटा पावर ट्रान्सफर्मर छन्। ठेकेदार कम्पनीको कार्य सम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी बाँकी काम गर्न पुस २०७५ मा नयाँ ठेक्का सम्झौता गरिएको थियो।
आयोजनाअन्तर्गत नै धनुषा र इनरुवामा २२० केभी सबस्टेसनको निर्माण सकिएर सञ्चालनमा आइसकेका छन्।
सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना निर्माण सुरू गरिएको हो।
हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत १३२/११ केभी हेटौंडा सबस्टेसन निर्माण गरिएको हो। यो सबस्टेसनबाट स्थानीय रूपमा विद्युत आपूर्ति गरिने छ। सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरू गरिएको थियो।