नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकाको ढुंगेसाँघु सबस्टेसन अमरपुर–ढुंगेसाँघु १३२ केभिडबल सर्किट प्रसारणलाइन निर्माण सुरू गरेको छ।
झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर १३२ केभी प्रसारणलाइन र सुनसरीस्थित इनरूवा सबस्टेसनदेखि संखुवासभाको वसन्तपुर हुँदै ढुंगेसाँघुसम्मको कोशी करिडोर २२० केभी प्रसारण लाइनलाई एक आपसमा आवद्ध गर्न अमरपुर–ढुंगेसाँघु लाइन निर्माण सुरू गरिएको हो।
कोशी करिडोरअन्तर्गत वसन्तपुर–इनरूवा खण्ड सञ्चालनमा आइसकेको छ। वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ। काबेली करिडोर सञ्चालनमा छ।
हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीय बासिन्दालगायतको उपस्थितिमा सोमबार अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारण लाइनको टावर निर्माण शिलान्यास गरिएको छ।
करिब १९ किलोमिटर प्रसारण लाइनमा ६७ वटा टावर निर्माण गर्नु पर्नेछ। उक्त प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ।
काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत आयोजनाहरूको विद्युतलाई विश्वसनीय तथा प्रभावकारी रूपमा प्रवाह गर्न अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारण लाइन सुरू गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए।
आयोजना प्रमुख गौतमकाअनुसार, कोशी र काबेली करिडोर प्रसारण लाइन एक आपसमा आवद्ध हुने भएकाले कुनै कारणले काबेली करिडोरमा समस्या आएमा उक्त लाइनमा जोडिएको विद्युत कोशी करिडोरतर्फ पठाउन सकिन्छ।
यसले गर्दा पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रिडको विश्वसनीयता बढ्नुका साथै स्थानीय विद्युत आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ बन्नेछ।
तमोर नदीजलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत ढुंगेसाँघु सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ।
नेपाल सरकारको करिब एक अर्ब २० करोड रूपैयाँ लगानीमा आर्थिक वर्ष २०७५/७६ मा आयोजना सुरू गरिएको हो। प्रसारण लाइन निर्माणका लागि २०७९ मा ठेक्का सम्झौता भएको थियो। आयोजना अन्तर्गत अमरपुर तथा ढुंगेसाँघु सबस्टेसनमा दुई/दुई वटा लाइन वे निर्माण गरिनेछ।
यसका अतिरिक्त स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ढुंगेसाँघु सबस्टेसनमा ११ केभीका संरचना निर्माण गरिने छ। लाइन वे र ११ केभीका संरचना बनाउन चालु आर्थिक वर्षमा ठेक्का लगाइने छ।
आयोजना अन्तर्गतका सम्पूर्ण काम आर्थिक वर्ष २०८१/८२ मा सक्ने लक्ष्य राखिएको आयोजना प्रमुख गौतमले जानकारी दिए।