उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा सम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्ने तयारी भएको बताएका छन्।
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक २०८० को मस्यौदा तयार भइ कानुन, न्याय तथा संस्दीय मामिला मन्त्रालयमा छलफलमा रहेको छ। यो विधेयकलाई आवश्यक प्रक्रिया पु¥याएर यथासक्य छिटो मन्त्रिपरिषदबाट स्वीकृत गरी संघीय संसदमा पेश गर्ने र संसदबाट पारित गराउने कार्य मन्त्रालयको प्राथमिकतामा छ,’ उनले भने।
उनले नेपालमा रन अफ रिभर (आरओआर) प्रकृतिका आयोजनाबाट उत्पादित सबै बिजुली नवीकरणीय उर्जा भएको पनि बताए। ‘अहिले नेपालको विद्युत उत्पादन २९०० मेगावाट पुगेको छ। जसमा आरओआर प्रकृतिका आयोजनाको योगदान २६०० मेगावाट छ। यो २६०० मेगावाट पनि नवीकरणीय उर्जा हो,’ उनले भने।
नवीकरणीय उर्जाको व्यापकता रहेका कारण संकुचित दृष्टिबाट नहेर्न उनले आग्रह गरे। ग्रिन तथा क्लिन विद्युत उत्पादनको आवश्यकता बढ्दै गएकाले नवीकरणीय उर्जा विकासमा सरकारले जोड दिइरहेको उनले बताए। ‘के समस्या छ लिएर आउनुस् सरकार समाधान गर्न तयार छ,’ उनले भने।
नवीकरणीय उर्जा प्रवर्द्धनमा केन्द्रको भूमिका थप प्रभावकारी हुने विश्वास समेत मन्त्री बस्नेतले दिलाए।
मन्त्री बस्नेतले संयुक्त अरब इमिरेट्स्को दुबईमा भएको संयुक्त राष्ट्र संघको २८ औं जलवायु सम्मेलन (कोप २८) ले लिएको सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाको उत्पादनलाई तेब्बर बनाउने तथा ऊर्जा दक्षताको प्रगतिलाई दोब्बर बनाउने लक्ष्य अघि सारेकाे स्मरण गर्दै। नेपालले पनि त्याे लक्ष्य हासिल गर्न काम गर्ने बताए।
उर्जा सचिव गोपाल प्रसाद सिग्देलले आगामी दुई वर्ष भित्र शत प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुर्याउने बताए। उनले नवीकरणीय उर्जा विकासमा सरकारले जोड दिइरहेको पनि उल्लेख गरे। ‘हामी वैकल्पिक उर्जा भनिरहेका छौं। यसलाई नवीकरणीय उर्जा भन्नुपर्छ। यहाँ नवीकरणीय उर्जाको राम्रो सम्भावना छ। ठूलो परिमाणमा यस्तो उर्जा उत्पादन गर्न सके निर्यात गरेर नेपालले लाभ लिन सक्छ,’ उनले भने।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रको आर्थिक वर्ष २०७/९८० को वार्षिक कार्य प्रगति प्रस्तुत गरेका थिए। उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको विकासको लागि सबैमा विद्युत पहुँच तथा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच पुर्याउनु पर्नेमा जोड दिए।
ऊर्जा रुपान्तरणका लागि आर्थिक तथा प्राविधिक सहयोग तथा यस क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता उनले औंल्याए। त्यस्तै प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर जलवायु वित्त, कार्बन वित्त लगायतका अन्तराष्ट्रिय स्रोत परिचालन गर्न आवश्यक रहेको औंल्याए।
कार्यक्रममा बोल्दै बेलायतका राजदूत रोब फेनले नेपालको ऊर्जा क्षेत्रको विकासमा बेलायतले सक्दो सहयोग गरिरहेको बताए। जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न दुवै देशबीच सहयोग आदान प्रदान भइरहेको पनि उनले उल्लेख गरे।
बेलायतले नवीकरणीय उर्जा विकासका लागि करिब १८ मिलियन पाउण्ड सहयोग गरेको पनि उनले बताए। उक्त सहयोगबाट दिगो ऊर्जा च्यालेञ्ज फण्ड मार्फत स्रोत परिचालन गरी नवीकरणीय ऊर्जा, वितरित नवीकरणीय ऊर्जा प्रणाली, खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि, रुफटप सौर्य प्रणाली आदिको माध्यमबाट ऊर्जा उपलब्धतामा सहयोग पुर्याइरहेको उनले बताए। यस्तो सहयोगको निरन्तरता रहने उनले उल्लेख गरे।
वार्षिक उत्सवका अवसरमा नवीकरणीय ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने तीन वटा कम्पनीलार्य सम्मान गरिएको थियो। सिम्पल इनर्जी प्रालि., खिम्ती ग्रामीण विद्युत सहकारी तथा भेञ्चर वेष्ट टु इनर्जी प्रालिलाई सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कारबाट सम्मान गरिएको थियो।
त्यस्तै केन्द्रमा २० वर्षभन्दा बढी अवधि सेवा गरेका कर्मचारीहरू पनि सम्मानित भएका छन्। केन्द्रका निर्देशक डा. सूर्यकुमार सापकोटा, निर्देशक रुद्रप्रसाद खनाल, वरिष्ठ अधिकृत सन्तोष राई, प्रशासकीय अधिकृत सविता अर्याल र सवारी चालक सूर्य स्याङ्तानलाई दीर्घ सेवा सम्मानबाट सम्मान गरिएको हो।