ठेक्का सम्झौता गरेको चार वर्षसम्म कालोपत्र गर्न नसकेका निर्माण व्यवसायी काममा फर्केका छन् । दुई वर्षभित्रै कालोपत्र सक्नेगरी २०७६ साल असोज २८ गते सम्झौता भएको सडक अझै कालोपत्र हुन सकेको छैन ।
बागलुङ नगरपालिका–४ कुँडुले चोकदेखि मालिका–पञ्चकोट पुग्ने सडक निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएका ठेकेदार एक वर्षपछि काममा फर्केका हुन्।
तीनपटक म्याद थप्दासमेत १४ किलोमिटर सडक कालोपत्र नभएपछि सरोकारवाला निकायको निरन्तरको ताकेतापछि निर्माण व्यवसायी काममा फर्केको बताइएको छ।
पूर्वाधारको काम सकेर ठेकेदार सम्पर्कविहीन हुँदा उक्त सडक एक वर्षदेखि अस्तव्यस्त थियो। ग्राभेल गरिएको सडकमा कालोपत्र नगर्दा यात्रुलाई धुलोले सास्ती बनाएको थियो।
एक वर्षदेखि कालोपत्रको पर्खाइमा रहेको उक्त सडक निर्माणको जिम्मा पाएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि काममा फर्केको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेश घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार निर्माण व्यवसायीलाई पत्र पठाउँदा समेत काममा नफर्केपछि गत पुस ३ गते प्रमुख जिल्ला अधिकारीको रोहवरमा निर्माण व्यवसायी र जनप्रतिनिधिबीच चैतभित्रै कालोपत्र गर्ने प्रतिबद्धता जनाएलगत्तै सडकको कामले गति लिएको हो ।
‘पुस ३ गते गरेको सहमतिलगत्तै सडकको कामले गति लिएको पाइयो, अहिले उक्त सडकको पाङ्ग्रेखोलामा सय मिटर सडक ढलान गरेको छ, ग्राभेलको बेसको कच्चा सामग्रीका लागिसमेत आवश्यक समन्वय गरेका छौँ,’ घिमिरेले भने, ‘काममा निकै ढिला भइसक्यो, अब सडक सम्पन्न नगरे कारबाहीको विकल्प छैन, फागुनबाट कालोपत्र थाल्ने गरी कामको प्रगति भएको पाइएको छ।’
दुई वर्षदेखि कालोपत्रका लागि आवश्यक ग्राभेल (सव बेस) छरेर छाडेको सडकमा कालोपत्र नहुँदा दुर्घटनाको समेत जोखिम बढाएको थियो।
गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत रु ३१ करोड लागतमा १४ किमी सडक कालोपत्र गर्न थालिएको भए पनि ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा सडक एक वर्षदेखि अलपत्र जस्तै बनेको थियो ।
दुई वर्षमा सकिने उक्त सडकको ठेक्का चार वर्ष बित्दासमेत ७६ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । उक्त सडकको सम्झौता मिति अन्तिम पटकलाई भन्दै आगमी चैत मसान्तसम्म म्याद थप गरिएको छ।
एक महिनायता पहिरो पन्छाउने, उकालो र चिसो भएको स्थानमा ढलान गर्ने कार्य भइरहेको तथा ग्राभेलका लागिसमेत आवश्यक कच्चा सामग्रीको सुनिश्चितता भएको निर्माण कम्पनीका फिल्ड इन्चार्ज रबिन चापागाईंले बताए।
‘कोरोनालगायतको समस्याले समयमै काम गर्न नसकेको हो, पूर्वाधारको काम सकिएको छ, उपकरणको सहायताले बेस बिच्छ्याएर कालोपत्र मात्रै गर्न बाँकी छ, ग्राभेलका लागि आवश्यक कच्चापदार्थका लागि ओढारचौरमा समेत काम गरिरहेका छौँ,’ चापागाईंले भने, ‘फागुन पहिलो साताबाट कालोपत्रको काम थाल्छौँ, कालोपत्र गर्न धेरै समय लाग्दैन, हामी तयारीका साथ फिल्डमा आएका छौँ, यस पटक जसरी पनि सडक सम्पन्न गरेर बुझाउँछौँ।’
कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालापत्र गर्नका लागि तत्कालीन गण्डकी प्रदेशसभा सदस्यको सिफारिसमा बजेट विनियोजन भएको थियो ।
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजनाअनुरुप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम थालिएको हो ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाका अनुसार सडक आठ मिटरको मापदण्डानुसार चौडा भइसकेको, एक मिटर नाली निर्माण र पाँच दशमला पाँच मिटर चौडा सडक कालोपत्र हुनेछ।
निर्माण व्यवसायीलाई पत्र पठाएर ताकेता गरेपछि एक वर्षपछि व्यवसायी काममा फर्केका हुन् । उक्त सडकको ७६ प्रतिशत भौतिक प्रगति र ७४ प्रतिशत आर्थिक प्रगति भइसकेको छ।